October 24, 2017

सर्वाधिक धनराशीको ‘प्रथम प्रधानमन्त्री कप २०७४’ हुने

निलम / काठमाण्डौ, २८ वैशाख । नेपाली क्रिकेट इतिहासकै सर्वाधिक धनराशीको एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता ‘प्रथम प्रधानमन्त्री कप २०७४’ हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना र काठमाण्डौ क्रिकेट ट्रेनिङ  सेन्टरको व्यवस्थापनमा यहि जेठ ९ गते देखी २४ गते सम्म काठमाण्डौमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा पाँच विकास क्षेत्रबाट एक एक तथा तीन विभागीय टोली सहित आठ टोलीले सहभागिता जनाउने छन् । सहभागी टोलीहरुलाई दुई समुहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेलाइने छ ।

प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख नगद हात पार्नेछन् । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीले ५०–५० हजार तथा लिगमा प्रत्येक खेल जित्ने टोलीले २५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको म्यान अफ दि सिरिजले एक लाख तथा उत्कृष्ट ब्याट्स म्यान र बलरले समान ५०–५० हजार पुरस्कार जित्ने आयोजकले जनाएको छ ।