Breaking News

राष्ट्रिय महिला भलिबलकाे उपाधिमाथि न्यु डायमण्डकाे कब्जा

काठमाण्डाै, २३ माघ । शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला राष्ट्रिय महिला भलिबलको उपाधि आयोजक शिवम् न्यू डायमण्ड एकेडेमीले जितेको छ।

विभागीय क्लब एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै न्यु डायमण्डले उपाधिमाथी कब्जा गरेको हो । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा मंगलबार सम्पन्न फाइनल खेलको पहिलो सेट न्यु डायमण्डले २६–२४ ले गुमाएपनि दाेस्राे सेटदेखि लगातार तीन सेट जित्दै उपाधि कब्जा गरेको हाे । न्यु डायमण्डले एपिएफ क्लबलाई दोस्रो, तेस्रो र चौथो सेटमा क्रमशः २५–२३, २८–२६ र २५–२३ ले  पराजित गर्न सफल भयो।

न्यु डायमण्डको जितमा प्रतिभा मालीले स्पाइकबाट ४४, सर्भिसबाट ५ र ब्लकबाट ३ अंक जोडिन् । त्यस्तै, कृपा अधिकारीले सर्भिसबाट ६ अंक जोडिन् । त्यस्तै, ललिता नाथले स्पाइकबाट १०, सर्भिस र ब्लकबाट समान १–१ अंक जोड्न सफल भएकी थिइन् ।

एपिएफकी सरस्वती चौधरीले टिमका लागि उत्कृष्ट प्रदर्शन गर्दै स्पाइकबाट २१, सर्भिसबाट ३ र ब्लकबाट २ अंक बटुलिन् । एपीएफकै रेश्मा भण्डारीले स्पाइकबाट १२, ब्लकबाट १ र सर्भिसबाट १ अंक जाेडिन् भने नेमिका चौधरीले स्पाइकबाट ११, ब्लकबाट २ र सर्भिसबाट १ अंकको योगदान गरिन् ।

शिवम् सिमेन्ट मुख्य प्रायोजनमा संचालित प्रतियोगिताको उपाधि जितेको न्यु डायमण्डले १ लाख ५१ हजार नगदसहित ट्रफी प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको एपीएफले १ लाख १ हजार नगदसहित ट्रफी हात पारेको छ । मंगलबार नै तेस्रो स्थानको लागि भएको खेलमा आर्मीले पश्चिमाञ्चलको टप्स उच्च माविलाई २५–१६, २६–२४ र २५–२१ को सेटमा पराजित गर्दै तेस्रो भएको छ । आर्मीले ५१ हजार र चौथो भएको टप्सले २१ हजार नगद प्राप्त गरेका छन् । चौथो स्थानमा रहेको टप्सले नगद २१ ह्जार प्राप्त गर्याे ।

प्रतियोगिताका  बेष्ट प्लेयर प्रतिभा माली घोषित भइन् । उनले शेरवहादुर खड्का स्मृति प्रतिष्ठानले सौजन्य गरेको नगद १० हजार प्राप्त गरिन् । त्यस्तै, स्पाईकर एपीएफकी सरस्वती चौधरी, बेष्ट ब्लकर आर्मीकी संगम महत्तो, बेष्ट क्वीकर न्यु डायमण्डकी ललिता नाथ, बेष्ट सर्भर न्यु डायमण्डकै पनामिका राई, बेष्ट लिब्रो न्यु डायमण्डकी सविना श्रेष्ठ, बेष्ट सेटरमा न्यु डायमण्डकै कृपा अधिकारी घोषित भइन् । उनीहरूले जनही ५ हजार नगद प्राप्त गर्दा उत्कृष्ट प्रशिक्षकमा न्यु डायमण्डका कुमार राई घोषित भए जसले नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेसरी मालीबाट सौजन्य गरिएको नगद १५ हजार प्राप्त गरेका थिए ।

shares