August 17, 2017

निर्वाचन शिक्षालाई प्रभावकारी बनाउन साझा बसको प्रयोग

काठमाण्डौ, २८ वैशाख । निर्वाचन आयोगले निर्वाचन शिक्षालाई थप प्रभावकारी बनाउन सरकारी स्वामित्वको साझा बसमा समेत निर्वाचन सन्देशसहितको शिक्षा सामग्री टाँसेर प्रचारप्रसार तीव्र पारेको छ ।

कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले साझा बसमा निर्वाचन आयोगको लोगो अङ्कित झन्डा फहराएर आज साझा यातायातमार्फत निर्वाचनको सन्देश प्रचारप्रसार शुभारम्भ गरेका हुन् । कार्यक्रमपछि पत्रकारसँग कुराकानी गर्दै प्रमुख आयुक्त यादवले पहिलो चरणको निर्वाचनमा खटिएका कर्मचारी सबै मतदान केन्द्रमा पुगिसकेको जानकारी पनि दिए ।

प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहका ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदान अधिकृत टोलीले आजदेखि शनिबारसम्म मतदाता परिचयपत्र वितरण गर्ने उनले जानकारी दिए ।