Breaking News

चौथो संस्करणको माइभ्याली गोल्डकप वैशाख ६ गतेबाट

इलाम, २३ माघ । पुर्वी पहाडको सर्वाधिक पुरस्कार राशीको माइभ्याली गोल्डकपको चौथो संस्करण वैशाख ६ गतेबाट हुने भएको छ ।

आयोजक माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघ इलामले चैत्र १४ गतेबाट प्रतियोगिता आयोजनाको तयारी गरेका थिए । तर चैत्र १४ गतेबाटै अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यक्रम तय भएकाले २०७५ वैशाख ६ गतेबाट १५ गतेसम्म संचालन गर्नका निम्ति एन्फाले माघ १५ गते पत्र पठाएपछि प्रतियोगिता सार्नु परेको माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए ।

चेम्जोङले भने, “चैत्र १४ गतेबाट प्रतियोगिताको सबै कार्यक्रम तयार गरी माघ १२ गते एन्फामा बुझाएका थियौं, तर एन्फाको निर्वाचन कार्यक्रममा खेलाडी, क्लब, अफिसियललगायत सबै सहभागी हुने भएकाले बाध्य भएर खेलको मिति सार्नु परेको हो ।” यस अघि पहिलो संस्करण र दोश्रो संस्करण माघमा संचालन भएकोमा तेश्रो संस्करण खेलमैदान स्तरोन्नती र मौसमका कारण चैत्र १७ गतेबाट संचालनमा आएको थियो ।

चौथो संस्करणको लागि पुरस्कार राशी बढाउँदै विजेतालाई ५ लाख र उपविजेतालाई ३ लाख रूपैयाँ दिने लक्ष्य राखिएको चेम्जोङले बताए । तेश्रो संस्करणा विजेताले नगद ४ लाख र उपविजेताले नगद २ लाख ५० हजार प्राप्त गरेको थियो । गोल्डकपको पाँचौ संस्करण भने २०७५ चैत्रमा नै संचालन गर्ने आयोजक समितिले बताएको छ ।

shares