October 20, 2017

अन्तिम समयमा एमाले र माओवादी केन्द्रको तालमेल टुट्याे

शिवलाल सुवेदी/ गुल्मी २८ वैशाख । स्थानीय तह निर्वाचनका लागि गुल्मी जिल्लामा नेकपा एमाले र माओवादी केन्द्र बीचको तालमेल अन्तिम समयमा आएर टुटेको छ ।

जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकामा विभिन्न पदहरु बाँडेर चुनावी मैदानमा उत्रिने सहमति जनाएका एमाले र माओवादी केन्द्रको सहमति केही दिनमा नै टुटेको हो । गत वैशाख ८ गते एक विज्ञप्ति जारी गर्दै तालमेल गरेर चुनावमा भाग लिने सहमति भएको थियो ।

माओवादी केन्द्रलाई दिइएका गाउँपालिका मध्ये अध्यक्ष पदमा एमालेले धुर्कोट गाउँपालिकामा कृष्ण घिमिरे, मालिका गाउँपालिकाबाट रितबहादुर थापा र चन्द्रकोट गाउँपालिकामा मिमलाल श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यता माओवादी केन्द्रले भने एमालले धोका दिएकाे जनाएको छ ।

स्थानीय तह निर्वाचनमा गुल्मीमा नेपाली काँग्रेस र नेकपा एमाले मुख्य प्रतिस्पर्धीका रुपमा रहेका छन् । जिल्लामा माओवादी केन्द्र खासै बलियो नभए पनि निर्णायक हुने भने देखिएको छ ।