पूर्वाञ्चलस्तरीय भलिबल प्रतियोगिता अाजबाट सुरु

रंगेली, २१ माघ । मोरङको रतुवामाई नगरपालिकामा आजदेखि पूर्वाञ्चलस्तरीय दोस्रो त्रिवेणी खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ ।

त्रिवेणी युवा क्लब डाम्राभिट्टाको आयोजनामा भइरहेको प्रतियोगिताको उद्घाटन खेलमा दमक बहुमुखी क्याम्पस झापा र त्रिवेणी युवा क्लब रतुवामाई विजयी भएका छन् ।

स्थानीय खेल मैदानमा सम्पन्न उद्घाटन पहिलो खेलमा आयोजक त्रिवेणी युवा क्लब डाम्राभिट्टा लाई २५–२२ र २५–२१ को सोझो सेटले हराउँदै दमक बहुमुखी क्याम्पस झापा विजय भएको थियो । खेलको म्यान अफ द म्याच त्रिवेणी युवा क्लब डाम्राभिट्टाका चेतन वि.क. घाेषित भए ।

एकपक्षीय खेल देखिएको दाेस्रो खेलमा पथरी भलिबल क्लबलाई त्रिवेणी युवा क्लब रतुवामाईले २५–१५ र २५–१७ अंकको सोझो सेटले पाखा लगाउँदै सहज जित हात पारेको थियो । उक्त खेलको म्यान अफ द म्याच त्रिवेणीका विशम धिमाल भए ।

प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य एवं पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजालले मुख्य ऐम्पायरलाई बल हस्तान्तरण गरेर गरेका थिए । प्रतियोगितामा पूर्वाञ्चलका १४ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद एक लाख र उपविजेता टिमले नगद ५१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत भोलिको दुुई खेल मेहरमान स्मृति क्लब बिर्तामोड र सशस्त्र प्रहरी भलिबल टिम पकली तथा रामधुनी भलिबल क्लब सुनसरी र बुलेट गाईज क्लब सोमबारेबीच हुनेछ ।