विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयाे

काठमाण्डौ, २१ माघ । विश्व क्यान्सर दिवस आइतबार नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।

दिवसका अवसरमा काठमाण्डौको तीनकुनेबाट निकालिएको जनचेतनामुलक र्याली माईतिघर पुगी समापन भएको थियो । खानपानमा ध्यान पुर्‍याए क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सूर्तिजन्य पदार्थको सेवन, धुलो, धुँवा र खानपानका कारण शहरी क्षेत्रका मानिस फोक्सोको क्यान्सरबाट बढी प्रभावित हुने गरेका छन् । नेपालमा फोक्सो र आमाशयको क्यान्सर धेरैलाई लाग्ने गरेको छ । तर महिलामा भने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर बढी देखिने गरेको छ ।

हाल युवा अवस्थामा नै क्यान्सर रोग देखा पर्न थालेको चिकित्सकहरू बताउँछन् । नेपालमा कति क्यान्सरका बिरामी छन् भन्ने यकिन तथ्यांक छैन । यद्यपी, ६० हजारभन्दा बढी क्यान्सर रोगी भएको अनुमान छ । नेपालमा वार्षिक ४० हजार नयाँ बिरामी थपिने गरेको अनुमान गरिन्छ ।

क्यान्सरकै कारण वर्षेनी विश्वमा ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ भने यसमा ४० लाख मानिसको ३० देखि ६९ वर्षको उमेरमै मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सरकारले क्यान्सर रोग लागेका बिरामीलाई १ लाख रुपैयाँसम्म सहयोग गर्ने कार्यक्रम ल्याएको छ ।