Breaking News

१६ औँ आहा ! रारा गोल्ड कपको उपाधी नेपाल पुलिस क्लबलाई

जीवन सुवेदी / माघ२० ,पोखरा । पोखरामा शनिबार सम्पन्न १६ औ आहा ! रारा गोल्ड कपको उपाधी नेपाल पुलिस क्लबले जितेको छ ।

पोखरा रंगशालामा भएको खेलमा थ्रीस्टारलाई १-० गोल अन्तरले हराउँदै पुलिसले उपाधि जितेको हो । पुलिसले उपाधिसँगै ७ लाख १ हजार पाएको छ । उपविजेता थ्रीस्टारले पनि ३ लाख ५१ हजारसहित ट्रफी प्राप्त गरेको छ । पुलिसको जितमा राम वाजीले थप गरिएको १० मिनेटमा गोल गरेका थिए ।

त्यसअघि निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलमा २० मिनेट थप गरिएको थियो । १६ संस्करणको उपाधिसँगै पुलिस पाँचौ पटक आहारारा गोल्डकपमा च्याम्पियन बन्यो । थ्रीस्टारले भने ४ पटक उपाधि जितेको छ । योसँगै पुलिसले मनाङ मर्स्याङ्दीको रेकर्डसँग बराबरी गर्‍यो । मनाङले पनि ५ पटक जितेको छ ।

पछिल्लो पटक पुलिसले २०६६ सालमा उपाधि जितेको थियो । २०५८ मा क्याराभान गोल्डकबपबाट सुरु भएको प्रतियोगितामा पनि पुलिस च्याम्पियन बनेको थियो। त्यो समेत जोड्दा पुलिसले ६ पटक उपाधि जितिसकेको छ। पुलिसले क्याराभानबाहेक २०५९ सालको पहिलो गोल्डकपसहित छैटौँ देखि आठौँ संस्करणसम्म लगातार ३ पटक उपाधि जितेर ह्याट्रिक समेत गरेको थियो।

यस्तै गत वर्ष धरानमा बुढासुब्बा गोल्डकपको उपाधि जितेको पुलिसले केही समयअघि राखेप च्याम्पियनसिप अन्तर्गत २८औँ राष्ट्रिय पुरुष फुटबलको उपाधि जितेको थियो । यसैबीच भाग्यमानी दर्शक उज्वल पोखरेललाई हिरो स्कुटर प्रदान गरिएको छ ।

प्रतियोगिता अवधीभर टिकट काट्ने दर्शकहरुमा गरिएको लक्की ड्रमा कास्की माछापुच्छ्रे गाउँपालिका घाचोक भलाबोट निवासी केसी बिजेता बनेका हुन् । उनलाई स्कुटर हस्तान्तरण गरिएको थियो । अर्का भाग्यमानी दर्शक रामबजारका हरिबहादुर कार्कीले एलजीको २१ ईञ्चको कलर टिभी प्राप्त गरे ।

shares