खोलामा डुबेर एकको मृत्यु, एक बेपत्ता

शिवलाल सुवेदी / गुल्मी २८ वैशाख । गुल्मीको बडिघाट खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको ज्यान गएको छ ।

चन्द्रकोट गाउँपालिका अन्तर्गत मजुवा बजार नजिकै बढीघाट खोलामा जालखेलेर माछा मार्ने क्रममा जालमा अल्झीएर चन्द्रकोट गाउँपालिका ८ का २५ वर्षीय युवराज रजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बाढी आएका कारण धमिलो खोलामा माछा मार्ने क्रममा जाल खेलिरहेका रजाली जालमा अल्झिएर खोलामा डुब्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख भोला रावलले बताए ।

त्यसैगरी सोही बडिघाट खोलामा पौडी खेल्ने क्रममा दवार गाउँपालिका १ बलिथुम निवासी १३ वर्षीय बालक राजेन्द्र परियार बेपत्ता भएका छन् । बुधवार खोलामा बगेर बेपत्ता बनेका परियार अझै फेला परेका छैनन् । खोला धमिलो भएका कारण उनको खोजी कार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।