October 19, 2017

दुर्घटनामा १ को मृत्यु, २ म्यादी प्रहरी सहित ५ घाईते

दिनेश शर्मा / राजविराज, २८ वैशाख । सप्तरीको खड्क नगरपालिका ७ स्थित पुर्वपश्चिम राजमार्गमा बुधबार राती ट्याक्टरले मोटरसाईकललाई ठक्कर ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा डाक्नेश्वरी नगरपालिका १० का २४ बर्षिय जगनाथ चौधरीको मृत्यु भएको हो । पूर्व जाँदै गरेको स १ त २०८४ नम्बरको ट्याक्टरले बिपरित दिसाबाट आउँदै गरेको स ७ प ७९०० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाईते भएका मोटरसाईकल चालक चौधरीलाई उपचारकालागी लहानतर्फ लैजाने क्रममा वाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ। ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।
यसैगरी, वुधवार राति नै सुरुङगा नगरपालिका १ मा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा तीन जना घाईते भएका छन्। गाईघाट–कदमाहा सडक खण्डमा कदमाहातिर आउँदै गरेको अन टेष्ट मोटरसाईकल दुर्घटना हुँदा  चालक सुरुङगा नगरपालिका १ का सुलेन्द्र राम तथा पछाडि वसेका सुरेन्द्र राम र चन्द्रजित राम घाईते भएको इलाका प्रहरी कार्यालय भेडीयाले जनाएको छ। घाईतेको सप्तऋषी अस्पताल लहानमा उपचार भईरहेको छ ।
यस्तै, कंचनरुप नगरपालिका १३ स्थित राजमार्गमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई म्यादी प्रहरी घाईते भएका छन्। इलाका प्रहरी कार्यालय लहान सिरहामा कार्यरत मोटरसाईकल चालक सोही नगरपालिका ७ बस्ने प्रबिन सरदार र पछाडी वसेका अशोक सरदार घाईते भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पूर्वतर्फ जाँदै गरेको को २८ प ५३१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको थियो। घाईतेको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भएको छ ।