नेपालमा वर्षेनी तीन हजार नयाँ कुष्ठरोगी थपिदै, तरार्इमा मुख्य चुनौति

काठमाण्डाै,१४ माघ ।  विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा कुष्ठरोगरहित विश्वको योजना लिएर अघि बढे पनि नेपालमा वर्षेनी करिब तीन हजार नयाँ बिरामी देखा परिरहेका छन् ।

यस वर्षमात्रै तीन हजार २१५ नयाँ रोगी पत्ता लागेका छन् । संगठनका सदस्य राष्ट्रले कुष्ठरोगी घटाउनुपर्नेमा झनै बढिरहेको छ । विसं २०५७ तिरमा नेपाल सरकारले कुष्ठरोग उन्मूलनको घोषणा गरे पनि नयाँ बिरामीको संख्या बढ्नु चुनौतीको विषय बनेको यस क्षेत्रमा कार्यरत व्यक्ति बताउँछन् ।

महिला र बालबालिकामा यो रोग बढिरहेको आनन्द वन अस्पतालका तालीम संयोजक गोपाल पोखरेलले बताउनुभयो । यस वर्ष मात्रै १४ वर्षमुनिका २ सय २० नयाँ बिरामी फेला परेका छन् । उनले भने, “रोग लागेर पनि औषधि नखाने व्यक्तिको श्वासबाट यो रोग अर्काेलाई सर्छ ।” बिरामीले चाँडो औषधि शुुरु गर्दा उसको रोग नफैलने र अरुलाई नसर्ने हुन्छ ।

प्रति १० हजार जनसंख्यामा एक प्रतिशतभन्दा कमलाई रोगको प्रभाव देखिएकाले सरकारले रोग निवारणको घोषणा गरेको थियो । सात वर्ष पहिले प्रति १० हजार जनामा ०.७९ रहेको स्वास्थ्य विभाग, कुष्ठरोग निवारण महाशाखाका रवीन्द्र बाँस्कोटा बताए । यस वर्षको राष्ट्रिय तथ्याङ्क हेर्दा बिरामीको संख्या प्रति दश हजारमा ०.९७ छ ।

प्रति १० हजारमा एक ननाघेकाले अझै गर्न सकिने भए पनि ढुक्क हुने अवस्था छैन । उहाँ भन्नुहुन्छ, “संख्या माथि उक्लिरहेकाले ढुक्क हुने अवस्था छैन ।” तराईका बाँके, बर्दिया, नवलपरासीलगायत जिल्लामा कुष्ठरोग प्रभावितहरु बढी पाइएको छ । सबैभन्दा बढी बिरामीको चाप प्रदेश नं २ मा छ । यस प्रदेशमा आव २०७३- ७४ मा प्रति दश हजारमा १९.७७ बिरामी थिए ।

दलेप्रासी मिसन नेपालका निर्देशक शोभाकर कँडेल कुष्ठरोग स्वास्थ्य मात्रै नभएर सामाजिक र आर्थिक समस्या भएको बताए । उन भने, “यो समस्या समाधानका लागि सबै पक्ष मिलेर लाग्न खाँचो छ ।” नेपालमा कुष्ठरोगको समस्या कम नहुनु नेपालका लागि मात्रै नभएर विश्वका लागि समेत समस्या बनेको छ ।

विश्व स्वास्थ्य संगठनले रोग लाग्ने, सर्ने र अंगभंग हुने व्यक्तिको संख्या ‘शून्य’ सहित कुष्ठरोगरहित विश्वको कल्पना गरेको संयोजक पोखरेल बताए । संगठनले कुष्ठरोग लागेका कारण तिरस्कार गरिने कानून हटाउन भनेको छ । नेपालको मुलुकी ऐनको विवाहसम्बन्धी महलमा कुष्ठरोग लागेकामा विवाह गर्न-गराउन नहुने भनेर राखिएको छ । कँडेलले भने, “यसले गर्दा कुष्ठरोग प्रभावितलाई अन्याय भएको छ ।”

माइक्रोब्याक्टेरियम लेप्रे नामक कीटाणुका कारण यो रोग लाग्छ । कुष्ठरोगको कीटाणु शरीरमा प्रवेश गरेपछि रोग निरोधक शक्तिले कीटाणु मार्न सकेन भने यो रोग लाग्छ । विभिन्न अध्ययनले कुष्ठरोगका कीटाणु शरीरमा प्रवेश गरेपछि एक प्रतिशतलाई मात्र रोग लाग्छ । बाँकी ९९ प्रतिशत व्यक्तिको शरीरमा भएको रोग निरोधक शक्तिले काम गर्ने अध्ययनमा देखिएको छ ।

कुष्ठरोगको कीटाणुले छाला र स्नायुमा असर गर्छ । कुष्ठरोगको शुरुआती चरणमा उपचार हुँदा क्षति हुँदैन । उपचारमा ढिलाइ हुँदा शरीरका विभिन्न भागमा असर पुग्न गएर अंगभंगको अवस्था आउँछ । कुष्ठरोग नियन्त्रण महाशाखाका अनुसार यो आवमा प्रतिलाखमा ११.२३ बिरामी थप भएका छन् । लेप्रोसी मिसन अस्पतालमा सन् २०१७(विसं २०७३ तिर) मा सात हजार ८०५ बिरामीले उपचार गराए ।

अस्पतालमा भर्ना भएर उपचार गर्ने बिरामीको संख्या एक हजार ५४० थियो । अन्य संस्थाले ८३ बिरामीलाई विशेष उपचारका लागि आनन्द वन अस्पतालमा सिफारिस गरी पठाएका थिए । अस्पतालले कुष्ठ प्रभावित व्यक्तिको पुनःस्थापना र सन्तानको शिक्षामा समेत सहयोग पु¥याउँदै आएको छ ।

विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारको लक्ष्यबमोजिम नेपालबाट कुष्ठरोग निवारण गर्ने भनिए पनि तराईका केही जिल्लामा कुष्ठरोग चुनौतिका रुपमा रहेको छ । यो प्राचीनकालदेखि नै मानिससँग परिचित भए पनि सन् १९८३ मा मात्र नर्वेका वैज्ञानिक डा. जीए ह्यान्सनले रोग पत्ता लगाएका हुन् ।