कार्यकर्ता हत्यामा संलग्नलाई गिरफ्तार गर्न एमालेले दियो सरकारलाई २४ घण्टे अल्टिमेटम

काठमाण्डौ, २७ वैशाख । नेकपा एमालेले दोलखामा भएको कार्यकर्ता हत्याको घटनामा संलग्न सबैलाई गिरफ्तार गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी दोलखा घटनाका दोषीलाई गिरफ्तार गर्न अल्टिमेटम दिएको हो । एमाले सचिव प्रदिप ज्ञवालीले एमालेको धैर्यलाई कमजोरी नठान्न चेतावनी दिए । सरकारको नेतृत्व गर्ने पार्टी राज्य संरक्षित गुण्डागर्दीमा उत्रँदा यसले भयावह अवस्था आउन सक्नेतर्फ उनले सचेत समेत गराए ।

एमालेले घटनामा संलग्न सबैलाई तुरुन्त गिरफ्तार गरी कारबाही चलाउन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न र घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ ।