October 22, 2017

निर्वाचन आचासंहिता पालन गर्न नेताहरुले गरे प्रतिबद्धता पत्रमा हस्ताक्षर

काठमाण्डौ, २७ वैशाख । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको अक्षरस पालना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सबै दलका शीर्ष नेताहरुलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएको छ ।

प्रमुख दलका शीर्ष नेताहरुसहित निर्वाचन आयोगमा आज भएको छलफलमा प्रमुख आयुक्त अयोधि प्रसाद यादवले सबै पार्टीका उम्मेदवारहरुले आचारसंहिताको पालना गरे मात्रै निर्वाचन गर्न सहज हुने भन्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएका हुन् ।

बैठकमा आयुक्त यादवले निर्वाचनलाई सफल पार्नु सबैको दायित्व भएको भन्दै निर्वाचन आचारसंहिता अनुसार अघि बढ्न दलहरुलाई आग्रह पनि गरे । छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्ला केही घटनाका बिषयमा छानबिन गर्ने बताए ।

छलफलमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले दोलखाको चरिकोटमा माओवादी कार्यकर्ताले आफ्ना कार्यकर्ताको हत्या गरेकोले त्यसको छानबिन गर्नुपर्ने माग गर्नुभएको थियो । छलफलमा प्रधानमन्त्री दाहालसँगै, नेपाली कांग्रेस सभापति देउवा, एमाले नेता सुवास नेम्वाङ, नयाँ शक्ति संयोजक बाबुराम भट्टराई, उपप्रधानमन्त्री विजय गच्छदार लगायतका नेताहरुको उपस्थिति थियो ।