August 19, 2017

लुम्बिनी विकासका लागि बुद्ध सर्किटको विकास आवश्यकः उपराष्ट्रपति पुन

नरेश के.सी. लुम्बिनी, वैशाख २७ । महामानव गौतमबुद्ध जन्मस्थल लुम्बिनी र बुद्ध सर्किटको विकास सँगसँगै गरे मात्र नेपालले सार्थकता पाउने उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ ले बताए ।

बुद्धको जन्मस्थाल लुम्बिनी, बुद्धको राजदरबार तिलौराकोट, मावली देवदह, अष्टधातु राखिएको स्थान रामग्राम, बुद्धसँग सम्बन्धित स्थानहरु निग्लिहवा, गोटिहवा र कुदानको विकासमा पनि सरकारले ध्यान दिनुपर्ने उपराष्ट्रपति पुनले सुझाव दिए ।

२५६१ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसको उपलक्ष्यमा बुधवार लुम्बिनीको समारोहलाई सम्बोधन गद उपराष्ट्रपति पुनले बुद्ध एक महान दार्शनिक, शान्तिका अग्रदूत रहेको बताउँदै बुद्धको पञ्चशीललाई अनुसरण गर्नुपर्नेमा जोड दिए । विश्वभरी शान्तिका अग्रदूत जन्मिएको देश नेपालका हामी नेपाली भनेर समेत परिचित हुनु पाउँदा गर्वको अनुभूति हुने गरेको उपराष्ट्रपति पुनले बताए ।

समारोहमा लुम्बिनी विकास कोषले स्थानीय १ सय गरिब, जेहेन्दार, असहाय र शहिद परिवारका विद्यार्थीहरुलाई मायादेवी छात्रवृत्तीबाट रु ५ हजार नगद सहिद प्रशंसापत्रले पुरस्कृत गरेको छ । साथै बुद्धजयन्तीमा सहभागी भएका भिक्षु तथा भिक्षुणीहरुलाई समेत नगद सहित सम्मान गरिएको कोषले जानकारी दियो ।