राजस्व परिचालनलाई सुदृढ गर्नुपर्नेमा अर्थमन्त्रीकाे जाेड

काठमाण्डाै, १० माघ । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले लक्ष्य अनुसार राजस्व संकलन गर्न निर्देशन दिएका छन् ।

बुधबार अर्थमन्त्रालयमा भएको अर्धबार्षिक राजस्व प्रगति समिक्षा बैठकमा अर्थमन्त्री कार्कीले यस्तो निर्देशन दिएका हुन् । राजस्व प्रणालीमा गर्नुपर्ने सुधारको विषयहरूलाई आत्मसाथ गर्दै राजस्व परिचालनलाई सुदृढ बनाउनेतर्फ अग्रसर हुन पनि उनले आग्रह गरे ।

मुलुकको संघीय प्रारुप कार्यान्वयनको लागि हाल परिचालन भएको भन्दा निकै बढी राजस्व परिचालन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । उनले राजस्वको दायरा बढाउनका लागि मन्त्रालयबाट कस्तो सहयोग आवश्यक पर्छ, त्यसको विषयमा सक्दो सहयोग गरेर अगाडि बढ्ने विश्वास समेत दिलाए ।

बैठकमा अर्थराज्यमन्त्री उदयशम्सेर राणाले राजस्व सङ्कलनको लक्ष्य पूरा गर्नका लागि सबै गम्भीर भएर लाग्नुपर्ने धारणा राखे । आन्तरिक राजस्व विभागलाई आर्थिक वर्ष २०७४/७५ का लागि २ खर्व ९९ अर्व ९१ करोड ३७ लाख ४५ हजार लक्ष्य तोकिएको छ ।