Breaking News

भारतकाे क्षेप्यास्त्र परीक्षणले निम्त्यायाे चीनलार्इ खतरा

काठमाण्डाै, ५ माघ । भारतले बिहीबार अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि त्यसले चीनप्रति खतरा बढेकाे चिनियाँ विज्ञले बताएका छन् ।

उनीहरूले भारतले उत्पन्न गरेको खतरालाई प्रतिवाद गर्न चीनले हिन्द महासागरमा आफ्नो उपस्थिति बढाउनुपर्ने बताएका छन् । बिहीबार बिहान भारतले ओडिसाको अब्दुल कलाम टापुबाट अग्नि–५ नामक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । भारतीय रक्षामन्त्री निर्मला सीतारमणले परीक्षण सफल भएको बताउँदै सो क्षेप्यास्त्रले ५ हजार किलोमिटरसम्म मार हान्न सक्ने बताएकी थिइन्।

बिहीबारको परीक्षण भारतको अग्नि सिरिजको पाँचौँ परीक्षण हाे। यसलाई मोबाइल लञ्चरबाट प्रहार गरिएको थियो। याे भारतको सबैभन्दा अत्याधुनिक क्षेप्यास्त्र पनि हो। यो सिरिजमा अग्नि–१ सात सय किलोमिटर, अग्नि–२ दुई हजार किलोमिटर, अग्नि–३ र अग्नि–४ दुई हजार पाँच सयदेखि तीन हजार पाँच सय किलोमिटरसम्म मारक क्षमता भएका क्षेप्यास्त्र हुन् ।

भारतको यो परीक्षणपछि चीन सतर्क बन्नुपर्ने चिनियाँ विज्ञहरूले बताएका छन्। ‘चीन सतर्क अवस्थामा रहनुपर्छ र आफ्ना क्षेप्यास्त्र प्रतिरोधी प्रणालीलाई उन्नत बनाउनुपर्छ,’ सांघाइ एकेडेमिक अफ सोसल साइन्सका हु झियोङको भनाइ ग्लोबल टाइम्सले उधृत गरेको छ । तर हुले चीनको तुलनामा भारतको क्षेप्यास्त्र निम्न स्तरको भएको दाबी गरेका छन् ।

अर्का सैन्य विज्ञ सङ झोङपिङले पनि आगामी दिनमा भारतले पर्याप्त यस्ता क्षेप्यास्त्र उत्पादन गरेर शक्तिशाली बन्नसक्ने बताए । सङका अनुसार भारत चीनसँग प्रतिस्पर्धा गर्न क्षेप्यास्त्र मात्र होइन, अन्य प्रकारका हतियार पनि विकास गरिरहेको छ।

‘भारत अष्ट्रेलिया, जापान, अमेरिकासँग मिलेर चीनको निगरानी गर्न एक सैन्य प्रणाली विकास गरिरहेको छ, जसले चीनमाथि प्रत्यक्ष खतरा पैदा गर्दछ,’ सङले भनेका छन्, ‘त्यसैले चीन सैन्य र आर्थिक हिसाबले हिन्द महासागरमा उपस्थिति देखाउनैपर्छ।’

-एजेन्सीकाे सहयाेगमा

shares