निर्वाचनलाई मध्यनजर गर्दै भक्तपुरमा सुरक्षा अवस्था कडा

भक्तपुर २७ वैशाख । जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको सुरक्षा अवस्था कडा पारिएको बताएका छन् ।

रफत सञ्चार क्लबले आज गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्लाको भौगोलिक अवस्थालाई ध्यान दिएर तीन तहमा सुरक्षा योजना बनाएको बताउँदै यसका लागि १ हजार ९ सय देखि २ हजारसम्म सुरक्षाकर्मीहरु खटाइएको जानकारी दिए ।

उनले निर्वाचनलाई शान्तपूर्वक सम्पन्न गर्न ११ सय निजामति कर्मचारी खटाईसकेको र सबै कर्मचारी आज नै मतदान केन्द्रमा पुगिसक्ने बताए । जिल्लामा निर्वाचनको समयमा कुनै अप्रिय घटना घटेको अवस्थामा ५ मिनेटभित्रै घटनास्थलमा सुरक्षाकर्मी पुग्ने व्यवस्था गरिएको जानकारी दिए ।

वैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान प्रक्रिया हुने र मतदाता पाँच बजे सम्म लाईनमा बसे समय थप गरिने समेत उनले जानकारी दिए ।