आजदेखि देशभर मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुदै

काठमाण्डौ ३ बैशाख । स्थानीय निर्वाचनको तयारी अन्तर्गत आजदेखि देशभर मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुदैछन् ।

जिल्ला न्यायाधीशको नेतृत्वमा ७५ वटै जिल्लामा जिल्ला निर्वाचन अधिकृतको कार्यालय स्थापना हुन लागेको हो । मुख्य निर्वाचन कार्यालयले निर्वाचनको प्राविधिक तयारीसंगै निर्वाचन अधिकृत र मतदान केन्द्र व्यवस्थापनका लागि काम अघि बढाउने छ ।

मुख्य निर्वाचन अधिकृतलाई जिल्लाभरको निर्वाचन कार्यक्रमको अनुगमन तथा आवश्यक निर्देशनको अधिकार ऐनले तोकेको छ । निर्वाचन अधिकृतको कार्यालय भने वैशाख १२ गतेबाट सञ्चालनमा आउनेछ ।

निर्वाचन अधिकृतमा नियुक्त भएका ६६९ र जगेडमा नियुक्त भएका समेतलाई आयोगले आवश्यक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ । निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार वैशाख १६ गते उम्मेद्वार मनोनयन हुनेछ ।

निर्वाचन तयारी अन्तर्गत निर्वाचन आयोगले मतपत्र छपाइ, परिचयपत्र छपाइ लगायतका काम धमाधम गरिरहेको छ । स्थानीय तह निर्वाचनमा सवै जिल्लामा मतदान केन्द्र तोक्ने काम सम्पन्न भइसकेको छ ।