यो बर्ष हातैले बुनेका घरेलु सामाग्रीको बिक्रीमा कमी

शिवलाल सुवेदी / गुल्मी ४ माघ । माघे संक्रान्तिका अवसरमा गुल्मी पाल्पा र स्याङजाको संगम स्थल रुरु क्षेत्रमा लाग्ने रिडी मेलामा हातैले बुनेका घरेलु सामाग्रीको व्यापार यो बर्ष घटेको छ ।

पछिल्लो समय बुटवल लगायत बाहिरबाट आएका फेन्सी सामानहरुका कारण हातैले बुनेका घरेलु सामाग्रीको ब्यापारमा कमी आएको हो ।
एकातिर भेंडा पाल्ने र उन काट्ने जनशक्ति अभाव हुनुले राडी, पाखी कम्बल लगायतका उनीका सामाग्रीको मुल्य बढेको छ भने अर्कोतिर वजारमा आएका फेन्सी बल्याङकेट गर्दा बिक्री घटेको ब्यापारीहरु बताउछन ।

माघे संक्रान्तिका अवसरमा गुल्मी पाल्पा र स्याङजाको संगम स्थल रुरु क्षेत्रमा लाग्ने रिडी मेला धार्मिक महत्वसंगै हिमाली भेगमा भेडाको उनबाट एकवर्ष सम्म हातैले बुनेर तयार पारिएका राडी, पाखी, काम्ला, तथा बाँसका सुपा, डाली, सोली, ओखरको घाँजी, गुँड र कन्दमुलहरुको ब्यापारको लागि प्रख्यात मानिन्छ ।

तर, पछिल्ला वर्षहरुमा हिमाली क्षेत्रमा बस्ने जनशक्ति अभावसंगै पाल्पा, बुटवल, भैरहवा, लगायतका स्थानबाट आउने प्लाष्टिकका सामाग्री र ब्यापारीहरुका कारण पनि व्यापार कम हुँदै गएको हाते सामाग्रीका व्पापारी गुनासो छ ।

यस वर्षको रिडी मेलामा घरेलु सामाग्रीहरुको व्यापार घट्दै गएको व्यापारीहरुको गुनासो छ । ‘हातैले बुन्ने हो, उन कात्ने मान्छे पाईनै छोडे, पहिला जस्तो त छैन मुस्ताङको मार्फायार्सा गाउँपालिका २ का अर्जुन गुरुङ्गले भने । उनीका सामाग्री भन्दा बुटवलतिरबाट आएका फेन्सी सामानहरुको विक्रिले पनि आफुहरुको व्यापार घटाएको गुरुङ्गको भनाई रहेको छ ।

गुरुङ्ग जस्तै जुम्लाको सिजा गाउँपालिका १ का विर बहादुर रावलको पनि गुनासो उस्तै छ । पहिला पहिला माल पुराउन सकिदैनथ्यो रावलले भने ‘अहिले त फेन्सी सामानले हाम्रो घरेलु सामान विक्रि हुन छाड्यो ।’ उनबाटै तयार गरिएका कम्बल २ हजारदेखि ३ हजार ५ सय रुपैंयासम्म पर्ने गर्दछन् ।

रिडी मेलामा बाग्लुङ्ग ,रुकुम , मुस्ताङ्ग, जुम्ला, हुम्ला, पर्वत लगायतका स्थानबाट घरेलु सामाग्रीहरु विक्रिका लागि उत्पादनकर्ताहरु आफै आउने गर्दछन् ।

हातैले बुन्ने सामाग्री पुराना पुस्ताले मात्र मन पराउने र अहिलेका युवाले सामाग्रीको महत्व नचिन्दा आफ्ना उत्पादनहरुले मुल्य पाउन छोडेको उनको गुनासो रहेको छ । रिडीको बगरमै खाना पकाएर खाने र बगरमै सुत्ने उनीहरुले खाना पकाउने भाँडा देखि आगो बाल्ने दाउरा समेत साथैमा ल्याएर आएका हुन्छन् ।

एक जनाले २५ देखि ४० वटासम्म कम्बल, राडी, पाखी ल्याएका हुन्छन् । रिडी मेलामा यस्ता सामाग्रीहरुको बिक्रिबाट एक व्यापारीले ८० हजारसम्म आम्दानी गर्ने गर्दछन् ।