Breaking News

कुलमानलाई समेत रुवायो देशले

काठमाडौँ, २७ बैशाख । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एलइडी बल्ब आयात गरेर दुई सय मेगावाट विद्युत् बचत गर्ने र लोडसेडिङ अन्त्य गर्न आफू लागेको भन्दै यसमा कुनै अनियमितता नभएको बताएका छन् ।

एलइडी बल्ब खरिदका विषयमा प्रश्न उठेपछि मंगलबार घिसिङले प्राधिकरणमा पत्रकार सम्मेलन गरेका थिए । आफैँले सुरु गरेको पत्रकार सम्मेलनको सुरुमा उनले प्रेस विज्ञप्ति पढेर सुनाए । त्यसपछि यसमा केही व्याख्या गरे ।

उनले भारतीय कम्पनी इइएसएलले श्रीलंकालाई पठाएको पत्र, ग्राहकलाई बल्ब बेचेको बिललगायत सार्वजनिक गरे । एलइडी बल्बको मूल्य भारतमा पनि ६५ भारु रहेको र त्यही दरमा नेपालले पाउने भन्दै यसमा कुनै अनियमितता नभएको उनले उल्लेख गरे ।

घिसिङको आवाज मधुरो हुँदै गएको थियो । लोडसेडिङ अन्त्य गर्दा जनताबाट पाएको वाहवाहीभन्दा भ्रष्टाचारको आरोपले उनलाई पोलेको अनुभूति गर्न कुनै कठिनाइ थिएन ।

जबर्जस्ती आँसु थामेका घिसिङले भने, ‘लोडसेडिङ अन्त्यका लागि हामीले कुनै कुनियतले काम गरेका छैनौँ । धेरै इमानदार भएर काम गरेका छौँ । हामी थोरै मात्रै दायाँबायाँ हुने हो भने लोडसेडिङ अन्त्य त्यत्तिकै सम्भव छैन । हामीले अहिले नेपाली जनताबाट एउटा बल्बमा पैसा खानुपर्ने अवस्था छैन । मैले चिमिलेदेखि सिकेको कुरा के हो भने कुनै पनि नेपाली जनताबाट एक रुपैयाँ खानुहुँदैन ।

त्यसरी जनताबाट पैसा खाने अवस्था पनि मेरो होइन । मैले पैसै खान परेको भए, नेपाली जनताको पैसा खानुपर्ने थिएन । चुप लागेर बसेर दुई–चार घन्टा लोडसेडिङ गरेको भए करोडौँ रुपैयाँ त्यत्तिकै कमाउन सक्थेँ । म इमानदार भएर लाग्दा हाम्रो टिमलाई जुन आरोप लागेको छ, त्यसमा कुनै सत्यता छैन ।

हाम्रो इमानदार प्रयासलाई नेपाली जनताले देखेको छ । यस इमानदार प्रयासलाई गलत हिसाबले हेरिन्छ भने, हाम्रो टिमलाई निरुत्साहित गरिन्छ भने भोलिको दिनमा नेपालमा के हुन्छ ? नेपालमा काम गर्न गाह्रो छ । आउँदा दिनमा पनि गाह्रो छ ।

अहिलेदेखि नै निरुत्साहित गरिन्छ भने यहाँ काम गर्न धेरै गाह्रो छ । हिजो लोडसेडिङ अन्त्य गर्दा व्यवसायीलाई नोक्सान भएको थियो । अब पनि कसैको व्यवसाय खोस्न खोजेको होइन । नेपाली जनतालाई सस्तोमा राम्रो र विद्युत्मा किफायत बल्ब दिन खोजेको हो ।

दुई वर्षमा तामाकोसीलगायतका आयोजना आउने अवस्थामा त्यसअघिको सुक्खायाममा नेपाली जनतालाई लोडसेडिङमुक्त अवस्थामा राख्नका लागि सफा नियतले यो कार्यक्रम ल्याएको हो । यही अवस्थामा यस्ता कुराले मेरो धेरै चित्त दुखेको छ ।

प्राधिकरणले व्यापार गर्न लागेको होइन । उज्यालो नेपाल अभियान सफल बनाउन मात्रै लागेको हो । कमिसनको कुरा जुन आएको छ, त्यो प्रमाणित भयो भने म यो देशबाट बाहिर जान तयार छु । कुनै कुनियत छ भन्ने प्रमाणित हुन्छ भने म झुन्डिन तयार छु ।’ यो खबर नयाँ पत्रिकामा छ ।

shares