१२ औं दक्षिण एशियाली सेभेन ए साईड फुटबल प्रतियोगितामा भुटानद्वारा भारत पराजित

पाेखरा, ३० पुस । पोखरा बाराहीघाटस्थित मैदानमा जारी १२ औं दक्षिण एशियाली सेभेन ए साईड फुटबल प्रतियोगितामा भुटानले भारतलाई पराजित गरेको छ ।

पहिलो दिन नेपालसंग चार सुन्य गोल अन्तरले पराजित भुटानले दक्षिण एशियाको फुटबलको शक्तिशाली राष्ट्र भारतलाई २ – ० गोल अन्तरले पराजित गर्दै फाईनल यात्राको आशा कायम राखेकाे हाे ।

भारतको लागि आजको खेलमा भुटानका गोल रक्षक अनिल दुवारा बाधक बने । भुटानका लागि म्यान अफ दि म्याच राकेश दासले खेलको तीसौं मिनटमा गोल गर्दै दवाव सिर्जना गरे । ४१ औं मिनेटमा गलाम रङ्गमीले दोश्रो गोल गर्दै जित सुनिश्चित् गरे । म्यान अफ दि म्याच राकेशलाई नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव दिननाथ बरालले ट्रफी प्रदान गरे ।

सेभेन ए साईड नेपालको आयोजनामा भएको प्रतियोगिताको अर्को खेलमा पाकिस्तानले मालदिभ्सलाई २ – १ गोल अन्तरले पराजित गर्‍याे । यससँगै मालदिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो दिन बंगलादेशसँग निरिह बनेको मालदिभ्सले राम्रो खेल प्रर्दशन गरेतापनि जितलाई आत्मसाथ गर्न सकेन र प्रतियोगिताबाट बाहिरियो ।

पाकिस्तानका लागि खेलको पहिलो हाफको २२ औं मिनेटमा सामीले र २५ औं मिनेटमा वालिदले गोल गर्दै जित निकाले । दोश्रो हाफको ८ औं मिनेटमा मालदिभ्सका डि जोनले गोल गरेर गोल अन्तरलाई कम गरेतापनि अर्को गोल गर्न नसकेपछि मालदिभ्सकाे खेलमा पूर्णविराम लाग्याे ।

भोलिको खेल नेपाल र भारत तथा दोश्रो खेल पाकिस्तान र बंगलादेशबीच हुनेछ । प्रतियोगितामा विजयी टिमलाई नगद २ लाख र उपविजेता टोलीलाई नगद १ लाग पुरस्कार प्रदान गरिने सेभेन ए साईड महासंघ नेपालका महासचिव डि.बि. नेपालीले जानकारी गराए ।