Breaking News

एमाले र माओवादीको कार्यदलले माघ ३ गते राष्ट्रियसभा निर्वाचनका लागि साझा उम्मेद्वार तय गर्ने

काठमाण्डाै, ३० पुस । एमाले र माओवादीको कार्यदलले आगामी माघ तीन गते राष्ट्रियसभा निर्वाचनका लागि साझा उम्मेद्वार तय गर्ने भएको छ ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आइतबार बसेको कार्यदलको बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि दुवै पार्टीबाट पठाउने उम्मेद्वारका विषयमा छलफल भएको र आगामी माघ तीन गते बस्ने बैठकले त्यसको अन्तिम टुङ्गो लगाउने एमाले नेता एवं कार्यदल संयोजक सुवास नेम्वाङले जानकारी दिए । माघको दुई गते अध्यक्ष केपी ओली स्वदेश फर्कने र त्यसपछि दुवै दलका शीर्ष नेतासँग छलफल गरेर राष्ट्रियसभा निर्वाचनको उम्मेद्वार टुङ्ग्याउने उनले बताए ।

बैठकमा राष्ट्रियसभा निर्वाचनका उम्मेद्वारको मापदण्ड र प्रदेशका मतदाताका विषयमा पनि छलफल गरिएको कार्यदल सदस्य एवं माओवादी नेता वर्षमान पुनले जानकारी दिए । उनले तीन गते बस्ने बैठकले नै राष्ट्रियसभा निर्वाचनको उम्मेद्वारकाे टुङ्गाे लाग्ने बताए ।

यसअघि शनिबार पनि कार्यदल सदस्यले राष्ट्रियसभा सदस्य निर्वाचन तयारी र प्रदेशसभा गठनबारे आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेका थिए । पार्टी एकता सम्वन्धी विषयमा भने थाइल्याण्डमा उपचाररत एमाले अध्यक्ष केपी ओली स्वदेश फर्किएपछि मात्रै छलफल हुने बताइएको छ । कार्यदलमा एमाले र माओवादीका तीन-तीन सदस्य रहेका छन् ।

shares