Breaking News

नेपाल टेलिकमले ८ अर्ब २५ करोड रुपैयाँ लाभांश वितरण गर्ने

काठमाण्डाै, ३० पुस । नेपाल टेलिकम कम्पनीले ०७३/७४ को मुनाफा रकममध्येबाट प्रतिसेयर ५५ रुपैयाँका दरले लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ ।

१० औं वार्षिक साधारणसभाकाे अवसर पारेर टेलिकमले यस्तो प्रस्ताव अघि सारेको हो । याे अहिलेसम्मकै धेरै लाभांश हो । अधिकृत पुँजी २५ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पुँजी १५ अर्ब रुपैयाँ छ ।

१५ करोड थान साधारण सेयर जारी गरेको कम्पनीको प्रतिसेयर मूल्य १ सय रुपैयाँ रहेको छ । जसअनुसार टेलिकमले ८ अर्ब २५ करोड रुपैयाँ लाभांश वितरण गर्नेछ । कम्पनीमा सरकारको ९१.४९ प्रतिशत, सर्वसाधारणको ४.४४, कर्मचारीको ४.०४ र नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर रहेको छ ।

नेपाल टेलिकमले यस वर्ष १५ अर्ब ३७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष ग्राहकको संख्या १७ प्रतिशत वृद्धि हुन गएको पनि टेलिकमले जनाएको छ । नेपाल टेलिकम कम्पनीले यस बर्ष समयमा नै वार्षिक साधारणसभा आयोजना गरेको हो ।

कम्पनी ऐन तथा टेलिकमको प्रबन्धपत्रमा हरेक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्ने प्रावधान छ । तर, विगतका ९ वटा वार्षिक साधारणसभामा कुनै पनि तोकिएको अवधिभित्र सम्पन्न भएको थिएन ।

shares