५ हजार सामाजिक परिचालक अान्दाेलनमा

काठमाण्डाै, ३० पुस । स्थानीय निकायमा विगत आठ वर्षदेखि सामाजिक परिचालकको रूपमा काम गरेका पाँच हजार कर्मंचारी आन्दोलित भएका छन् ।

ऐेन कानूनबमाेजिम राखिएका कर्मचारीलाई हटाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । संघले आइतबार काठमाण्डौमा सडक आन्दोलन घोषणा गर्दे खुलामञ्च टुंडिखेलबाट ‍विरोध र्‍याली निकालेको थियो । र्‍याली माइतीघर पुगी कोणसभामा परिणत भएको थियो ।

स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा २३६ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले समाजिक परिचालन कार्यविधि २०७१ जारी गरी स्थानीय सेवा प्रदायक संस्थाको छनोट गरेको थियो । यसरी छनोट गरिएका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका हरेक वडामा एकजना सामाजिक परिचालन नियुक्त गरिएको थियो ।

तर, करारमा नियुक्त गरिएका परिचालकलाई पटक-पटक म्याद थपिँदै काममा लगाए पनि सरकारले हटाएपछि उनीहरूले पुनर्बहाली गर्न माग गरेका छन् । लामो समयदेखि स्थानीय तहमा कार्यरत रहेर अहिले अचानक हटाइएपछि आफूहरू बेरोजगार बन्नु परेकाले सडक आन्दोलन गर्नुपरेको नेपाल सामाजिक परिचालक कर्मचारी संघकी अध्यक्ष सारिका राईले बताइन् ।

सामाजिक परिचालक कर्मचारीहरूले आफूहरूलाई पुनर्बहाली गरी स्थानीय तहको कर्मचारीमा समायोजन गर्नुपर्ने, समायोजन गर्दा उमेरको हद नलाग्ने गरी गर्नुपर्ने र योग्यताका आधारमा समायोजन गर्नुपर्ने माग अघि सारेका छन् ।