Breaking News

पराजयबारे समीक्षा गर्न केन्द्रीय कार्यसमितिको बैठक बस्ने कांग्रेस प्रवक्ता शर्माकाे दाबी

काठमाण्डाै, ३० पुस । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा ल्याएको नतिजाका बारेमा छलफल गर्न केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बस्ने दाबी गरेका छन् ।

रिपोटर्स क्लब नेपालले आईतबार काठमाण्डौमा गरेको साक्षात्कारमा प्रवक्त शर्माले पार्टीलाई बलियो र सशक्त बनाएर अगाडि बढाउनका लागि गम्भीर छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन लागिएको बताएका हुन् । उनले पार्टीभित्र पराजयबारे गम्भीर समीक्षा गरेर नवजीवन दिने बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रवक्ता शर्माले केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयानुसार आवश्यक परे महासमिति र महाधिवेशन प्रतिनिधिको बैठक बोलाइने स्पष्ट पारे । शर्माले कांग्रेसले कुनै पार्टीको कुनै नेतालाई प्रधानमन्त्री हुन प्रस्ताव नगरेको स्पष्ट गर्दै पार्टी जनादेशलाई आत्मसात् गरेर अगाडि बढ्ने बताए ।

प्रवक्ता शर्माले सरकारले चाँडो प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने जानकारी दिँदै राष्ट्रियसभाको निर्वाचनपछि आगामी फागुनको पहिलो वा दोस्रो हप्तामा नयाँ सरकार बन्ने बताए ।

shares