Breaking News

वाम-गठबन्धन तोड्न देशी विदेशी शक्तिको चलखेल: महेन्द्रबहादुर शाही

भक्तपुर, ३० पुस । पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका युवा नेता महेन्द्रबहादुर शाहीले वाम-गठबन्धन तोड्न देशी तथा विदेशी शक्तिको चलखेल बढेको बताएका छन् ।

रफत सञ्चार क्लब भक्तपुरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै शाहीले उक्त कुरा बताएका हुन् । उनले वाम-गठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई टुक्र्याउँदै आफ्नो शक्तिकेन्द्रका रूपमा नेपाललाई प्रयोग गर्न देशी-विदेशी शक्तिको चलखेल जारी रहेतापनि त्यसले पूर्णता नपाउने बताए ।

पाँच वर्षसम्म वाममगठबन्धनबाट एक जना प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने बताउँदै अब बन्ने वामगठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुने त्यो कार्यकाल पाँच वर्ष हुनेमा कसैलाई शंका नगर्न उनले आग्रह गरे ।

उनले वर्तमान देउवा सरकारले जाँदाजाँदै गरेको राम्रा कामको निरन्तरता दिने तर गलत निर्णय नयाँ बन्ने वामगठबन्धनको सरकारलाई मान्य नहुने बताए । अब कहिल्यै सरकारमा आउन पाइन्न जस्तो गरेर जसरी यो कामचलाउ सरकारले निर्णय गरेको छ, त्यो सरासर संविधान बिपरित भएकाे उनकाे तर्क थियाे ।

निर्वाचन आयोगले समेत नयाँ सरकार गठनमा देखाएको अलमल रहस्यमय भएको भन्दै आयोगले तत्परता देखाउन नसक्दा नयाँ सरकार गठनमा अवरोध भएको र संविधानको समेत उल्लंघन गर्ने काम गरेको नेता शाहीले टिप्पणी गरे ।

shares