Breaking News

चितवनको देवघाटमा माघे संक्रान्ति मेलाको लागि सबै तयारी पूरा

चितवन, ३० पुस । नेपालकाे महत्वपूर्ण पर्यटकिय क्षेत्र तथा पवित्र तिर्थस्थल चितवनको देवघाटधाममा माघे संक्रान्ति मेलाको लागि सबै तयारी पूरा भएकाे  मेला व्यवस्थापन समितिले जनाएको छ ।

देवघाट क्षेत्र विकास समितिले १५१ सदस्यीय मेला व्यावस्थापनन समिति गठन गरेर मेला व्यवस्थापनसम्बन्धी अावश्यक तयारी पूरा गरेकाे हाे ।  समितिका संयोजक एवं देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले मेलामा आउने भक्तजनहरूलाई सहजताका लागि आवश्यक सुरक्षासहितको तयारी गरिएको बताए ।

आज बेलुकादेखि नै देवघाट परिसरमा मेला भर्न अाउने भक्तजनहरूको घुँईचो लाग्ने गर्दछ । रातभर धुनी बालेर जाग्राम बसेका भक्तजनहरू भाेलि बिहानै कालीगण्की र त्रिशुली नदीकाे संगमस्थलमा नुहाएर पुजा गर्ने गर्दछन्। उनका अनुसार चिसो मौसम भएकाले भक्तजनहरुलाई धुनीको व्यवस्था समेत मिलाइएको छ।

यसैगरी, स्वास्थ्य उपचार, स्नान स्थल व्यवस्थापन, शौचालय, विद्युत, आकस्मिक उद्धार तथा आवश्यक सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको छ । पौडेलले यहाँको झोलुंगे पुलको समेत आवश्यक मर्मत गरिएको बताउँदै पंक्तिबद्ध भएर हिंड्न अपिल गरेका छन् । चितवन, नवलपरासी र तनहुँको संगम स्थलमा रहेको देवघाटमा वृद्दवृद्दाको सहजताका लागि आवश्यक व्यवस्था समेत गरिएको छ ।

सवारीसाधनकाे चाप अत्यधिक हुने हुनाले सवारी आवागमन र पार्किंङका लागि स्थान तोकिएको तथा आज र भोलि यहाँ आउने विभिन्न सडकमा एकतर्फी सवारीको व्यवस्था मिलाइएको जिल्ला ट्रफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले बताए । नारायणगढ, भरतपुरतर्फबाट देवघाट जाने सवारीलाई ईलाका प्रहरी कार्यालय रामनगर जंगल मुखबाट भित्र प्रवेश गराउने र आँपटारीबाट बाहिर निस्कने व्यवस्था छ ।  मुग्लिङतर्फबाट देवघाटको चितवन खण्डमा जाने सवारीलाई रामनगरको ठीमुरा चोकबाट भित्र प्रवेश गराउने र आँपटारीबाट बाहिर जाने व्यवस्था छ ।

यस्तै मुग्लिङतर्फबाट देवघाटको तनहुँ खण्डमा जाने सवारीलाई दासढुङ्गा पुलबाट भित्र प्रवेश गराउने र सोही बाटो फिर्ता हुने व्यवस्था गरिएकाे छ ।  रामनगर र ठीमुरा दुवैतर्फबाट देवघाटमा प्रवेश गरेका मोटर साईकलहरूलाई सीताराम संस्कृत माध्यामिक विद्यालयको हाताभित्र र रामनगरतर्फबाट आउने सवारीहरूलाई साेही विद्यालय पछाडिको खुल्ला चौरमा पार्किङ गराउने व्यवस्था मिलाइएको छ ।

 

shares