जाडाेयाम सुरु भएयता सप्तरीमा एक दर्जन घर जलेर नष्ट

सप्तरी, ३० पुस । सप्तरीमा जाडाेयाम सुरु भएयता छुट्टाछुट्टै तीन ठाउँमा भएको आगलागीबाट एक दर्जन घर जलेका छन् ।

शीतलहरले जनजीवन अत्यन्तै कष्टकर बन्दै गइरहेकाे सप्तरीमा पछिल्लो समयमा शरीर न्यानो पार्न बालिएको आगोमा जलेर लाखौंको धनमाल क्षति भएको हाे ।

पछिल्लो पटक रुपनी गाउँपालिका १ मा भएको आगलागीबाट तीन दाजुभाइको ६ वटा घर जलेका छन् । शुक्रबार राति भएको आगलागीबाट स्थानीय राजो यादव, रामनारायण यादव र रामविलास यादवको घर जलेको हाे । उनीहरूको दुई/दुई वटा घर जलेका छन् ।

गोठमा बालिएको घुरबाट अागाे सल्किएर राति १२ बजेतिर आगलागी हुँदा राजोले घरमा राखेको नगद ७५ हजार रुपैयाँ समेत जलेको छ भने ६ लाख रुपैयाँ भन्दा बढीको धनमालकाे क्षति भएको पीडितको भनाइ छ । आगोलाई राजविराज नगरपालिकाबाट गएको बारुण यन्त्र र स्थानीयहरूकाे सहयाेगमा निभाएकाे थियाे ।

शुक्रबार राति नै बेल्ही चपेना गाउँपालिका ३ नर्घाेमा आगलागी हुँदा एक घर र एक गोठ जलेका छन् । बेल्ही चपेना ३ नर्घाे निवासी ठकाई साहको घरमा भएकाे उक्त आगलागीमा गोठसहित उनका एक घर समेत जल्दा दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

यसअघि पनि डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडामा बुधवार राति आगलागी भएको थियो । आगलागीबाट गंगाराम पंडित र सियाराम पंडितका एक/एक घर जलेर नष्ट भएका थिए ।