सिरियामा क्लाेरिन ग्याँस हमला

काठमाण्डाै, ३० पुस । सिरियाको राजधानी दमासकसको बाहिरी इलाकास्थित घेराबन्दीमा रहेको विद्रोही नियन्त्रित क्षेत्रमा क्लोरिन ग्याँस हमला भएकाे छ ।

दैनिक बमबारी हुने गरेको पूर्वी गुटा क्षेत्रमा क्षेप्यास्त्र आक्रमणपछि क्लोरिन ग्याँसको गन्ध आएको खबर बीबीसीले बताएकाे छ ।

उक्त ग्याँसकाे असरका कारण ६ जनालाई श्वासप्रश्वाससम्बन्धी सामान्य समस्या देखिएपछि उपचार गरिएको स्वास्थ्यकर्मीले बताएका छन् । करिब ४ लाख स्थानीय बासिन्दा रहेको उक्त क्षेत्र सन् २०१३ यता रूसको समर्थन पाएको सरकारी फौजको घेराबन्दीमा रहिआएको छ ।

सिरियामा गृहयुद्ध शुरु भएयता थुप्रै पटक क्लोरिन ग्याँस हमला भइसकेका छन् । तर सरकारले भने आफूले त्यस्तो कुनै रासायनिक ग्याँस प्रयोग नगरेकाे बताउँदै अाएकाे छ ।

जनवरी १० मा संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी उच्चायुक्तको कार्यालयले दिएकाे तथ्यांक अनुसार हवाई र स्थल आक्रमणले पूर्वी गुटामा डिसेम्बर ३१ यता कम्तीमा ८५ जना सर्वसाधारणको ज्यान गइसकेकाे छ ।