कैलालीको लम्कीमा दुई बस ठोक्किँदा १९ जना घाइते, ७ काे अवस्था गम्भीर

कैलाली,२९ पुस । कैलालीको लम्कीचुहा नगरपालिका ८ गुलरामा आज बिहान दुई बस एक आपसमा ठाेक्किँदा १९ जना घाइते भएका छन् ।

घाइते मध्य ७ जनाकाे अवस्था गम्भीर रहेकाे छ । धनगढीबाट नारायणगढ जाँदै गरेको ना ४ ख २२६ र टिकापुरबाट धनगढी जाँदै गरेको ना ४ ख ५१३२ नम्बरकाे बस एक आपसमा ठक्कर खाएको हो। दुर्घटनामा १९ जना घाइते भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक सुरजबहादुर खड्काले बताए ।

उनका अनुसार घाइतेको लालरत्न अस्पताल कैलालीमा उपचार भइरहेको छ भने गम्भीर पाँचलाई थप उपचारका लागि मेडिकल कलेज नेपालगञ्ज पठाइएको छ। बाक्लो हुस्सुका कारण बाटो नदेखिएकाले दुई बस एक आपसमा ठक्किएर दुर्घटना भएकाे प्रहरीकाे अनुमान छ ।