September 20, 2017

रुस्लान अत्तरीया कपको उपाधि क्रिकेट वुमन काठमाण्डौलाई

दीपक उपाध्याय / धनगढी, वैशाख २६ । कैलालीको अत्तरीयामा भएको रुस्लान अत्तरीया कपमा विभागीय टोली एपिएफलाई पराजित गर्दै राईजिङ्ग क्रिकेट वुमन काठमाण्डौले उपाधि जितेको छ । उपाधिसँगै उसले नगद २ लाख र ट्रफी हात पारेको छ भने दोस्रो भएको विभागीय टीम एपिएफले १ लाखमै चित्त बुझाएको छ ।

अत्तरीयास्थित एपिएफको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको राईजिङ्ग क्रिकेट वुमन काठमाण्डौले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ५२ रन बनायो । राईजिङ्गका लागि अलराउण्डर विदेशी खेलाडी पुजा निमाभाटले ३८ बलको सामना गर्दै ४ चौकाको मद्दतले ३७ रन बनाइन् । त्यस्तै सहनवाज प्रविण २५, शान्ता मुखर्जी २३, शान्ति खतिवडा २१, नेरी थापा र आरति विडारीले समान १३/१३ रन बनाए । एपिएफकी सरिता मगरले ४ ओभरमा २९ रन खर्चिदै ३ विकेट लिइन् । त्यस्तै एपिएफकी करणा भण्डारीले समेत २ विकेट हात पारिन् ।

१ सय ५३ रनको विजय लक्ष्य पछ्याउदै मैदान प्रवेश गरेको विभागीय टिम एपिएफले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ३६ रन मात्रै बनाउन सक्यो । एपिएफकी पुजा पाण्डेले ४२ बल खेल्दै ५ चौकाको मद्दतले ४८ रन बनाए पनि आफ्नो टिमलाई जित भने दिलाउन सकिनन् । त्यस्तै एफिएफकी करुणा भण्डारीले २४ र सरिता मगरले २१ रन बनाए पनि बाँकी खेलाडीले भने दोहरो अंकको रन बनाउन सकेनन् । एपिएफलाई सस्तैमा समेट्न राईजिङ्ग क्रिकेट वुमन काठमाण्डौकी पुजा निमाभाटले ४ ओभरमा १७ रन खर्चिदै ४ विकेट हात पारिन् ।

प्रतियोगितामा १ सय ७ रन बनाउदै ११ विकेट लिएकी राईजिङ्ग क्रिकेट वुमन काठमाण्डौकी पुजा निमाभाट उत्कृष्ट खेलाडी घोषित हुँदै नगद २५ हजार रुपैया हात पारिन् । त्यस्तै राईजिङ्गकै शान्ता मुखर्जी उत्कृष्ठ विकेट किपर भईन भने विभागीय टोली एपिएफकी ज्योति पाण्डेय र सरिता मगर क्रमशः उत्कृष्ट ब्याट्वुमन र बलर घोषित हुँदै १० हजार नगद प्राप्त गरे ।