Breaking News

न्यायालयलाई प्रभावित नपार्न डा. केसीलाई महतकाे चेतावनी

काठमाण्डाै, २८ पुस । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले जुलुश निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित पार्ने काम नगर्न डाक्टर गोविन्द केसीलाई चेतावनी दिएका छन् ।

रिपा्र्टर्स क्लबमा अायाेजित साक्षात्कारमा डा. महतले भने,‘अदालत भनेको स्वतन्त्र न्यायापालिका हो, यही मान्यता अनुसार स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ, कुनै दबाब वा हस्तक्षेप गर्नुहुँदैन ।’ अदालतको विषयमा पार्टीको अडान हुन नहुने उनको भनाई थियो ।

उनले केसीले उठाएका शैक्षिक तथा स्वास्थ्यसम्बन्धी मागहरूमध्ये आफू अर्थमन्त्री हुँदा कतिपय मागहरू पूरा गरिदिएको पनि जानकारी दिए । उनले भने,‘केसीले उठाएका मेडिकल एडुकेशनसम्बन्धीका मागमा राम्रा कुराहरू छन्, तीनलाई सम्बोधन गर्न मैले पनि पहल गरेकै हो ।’

प्रधानन्यायाधीश वा न्यायाधीशहरूको बारेमा कुनै विवाद भए छानबिन गर्न न्याय परिषद र संवैधानिक परिषद भएकोले यस विषयमा यी दुई निकायले निर्क्याैल गर्ने विषय भएको पनि स्पष्ट पारे । अदालत न्यायको मन्दिर भएकोले यसलाई निश्पक्ष ढंगले काम गर्न दिनुपर्ने उनको भनाइ छ ।

आफूले सुरुवातदेखि नै संघीय व्यवस्था मुलुकले धान्न सक्ने खालको बनाउनुपर्छ भनेर आवाज उठाउँदै आएको  भन्दै उनले भने,‘अहिले ११५ अर्ब ऋण लिइएको छ, अनुत्पादक खर्चहरू भएका छन् ।’ संवैधानिक व्यवस्थामा नै जटिलताहरू भएकोले अहिले नयाँ सरकार गठनमा ढिलाइ भैरहेको उनको तर्क थियो ।

त्यस्तै उनले प्रदेश प्रमुख र अस्थायी राजधानी आज तोक्ने भनिएको भएपनि सरकारले तोक्न नसक्नु दुःखदायी कुरा भएको भन्दै दुखेसो पोखे । महतले चाँडो से चाँडो सत्ता हस्तान्तरण गर्नुपर्ने पनि बताए । उनले भने,‘नयाँ म्याण्डेट अनुसार नयाँ सरकार बन्नुपर्छ, तर अहिलेका प्रधानमन्त्रीको नियत सफा छ, बाध्यकारी भएर मात्रै उनी बसिरहेका हुन् ।’

shares