भारतीय प्रधानन्यायाधीशकाे विराेधमा ४ न्यायाधीशले गरे पत्रकार सम्मेलन

नयाँ दिल्ली, २८ पुस । भारतीय सर्वाेच्च अदालतका ४ वरिष्ठ न्यायाधीशले पहिलाे पटक सर्वाेच्च न्यायालयमा भइरहेकाे अनियमितताकाे बारेमा प्रधानन्यायाधीशविरुद्ध प्रश्न उठाएका छन् ।

वरिष्ठ न्यायाधीशहरू जे चेलमेश्वर,  रंजन गोगोई, मदन लोकुर र कुरियन जोसेफले न्यायालयमा भइरहेकाे अनियमितताबारे जानकारी गराउँदै प्रधानन्यायाधीश दीपक मिश्रमाथि महाअभियाेग लगाउने कि नलागाउने भन्ने बारेमा छलफल गर्न दिल्लीमा पत्रकार सम्मेलन गराएका हुन् ।

अाफ्नै निवासमा अायाेजित पत्रकार सम्मेलनमा बाेल्दै वरियताकाे दाेस्राे क्रममा रहेका न्यायाधीस चेलमेश्वरले भने, “हामी चारैजना यस कुरामा सहमत छाैं कि यदि यस संस्थालार्इ बचाइएन भने याे देश वा कुनै पनि देशमा लाेकतन्त्र रहँदैन । स्वतन्त्र एवम् निष्पक्ष न्यायपालिका असल लाेकतन्त्रकाे निशानी हाे ।”

आफूहरूले शुक्रबार पनि मिश्रलाई भेटेको तर, आफ्नो कुरामा सहमत गराउन नसकेको उनले बताए । उनले भने, “अब हामीसँग न्यायालयको हेरविचार गर्न देशबासीलाई भन्नुको विकल्प छैन ।”

दीपक मिश्र वरिष्ठताका आधारमा प्रधानन्यायाधीश बनेका थिए । १३ महिनाको कार्यकाल पूरा गरेपछि उनले २ अक्टोबर २०१८ मा अनिवार्य अवकाश पाउनेछन् ।

चार न्यायाधीशले महत्वपूर्ण मुद्दा हेर्न आफूहरूभन्दा कनिष्ठलाई दिएकोमा असन्तुष्टि जनाउँदै दुई महिनाअघि प्रधानन्यायाधीशलाई पत्र लेखेका थिए । न्यायाधीश बीएच लोयाको रहस्यमय मृत्युबारे उनीहरूको धारणा बाझिएकाे थियाे ।