मकवानपुरको मनहरीमा अागलागी हुँदा ३ घर जले

हेटाैंडा, २८ पुस । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीमा शुक्रबार बिहान लागेको आगोले २ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएकाे छ भने एउटा घरमा आंशिक क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालय मनहरीका अनुसार स्थानीय दिलबहादुर थिङको घरमा विद्युत शट भई लागेको आगोका कारण उनको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने करिब २ लाख ५० हजारको अन्नपात तथा सामाग्री जलेर नष्ट भएको छ ।

त्यस्तै छिमेकी वर्ष ४४ का दमलाल थिङको घरमा पनि सोही आगोले पूर्ण रुपमा क्षति पुर्याएको छ । उनको करिब १ लाख ४५ हजारको धनमाल जलेर नष्ट भएको छ ।

नजिकै रहेको गौरी कार्कीको घरमा समेत आगलागी हुँदा उनको घरमा आंशिक रुपमा क्षति पुग्दा करिब ३५ हजारको धनमाल जलेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

अहिले स्थानीयबासी, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा अाइसकेकाे छ ।