माओवादीका मन्त्रीहरूद्वारा सामूहिक राजीनामा, प्रधानमन्त्रीले बुझे राजीनामा पत्र

काठमाण्डौ,२७ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा बिनाविभागीय मन्त्रीका रुपमा रहेका अाफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउन प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाएका छन्।

 बिनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्रबुझाएका हुन् । प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका पोखरेलले अध्यक्ष प्रचण्डले सरकारबाट बाहिरिने विषयमा लेखेको राजीनामा पत्र  बुझाए । माओवादीका मन्त्रीहरुले बिहीबार नै राजीनामा बुझाउने बताए तापनि सार्वजनिक बिदा परेका कारण रोकिएको थियो।

राजीनामा पत्रमा निर्वाचन सम्पन्न गर्न अप्ठ्यारो नपरोस् र समयमै चुनाव होस् भनेर सरकारमा बसेको उल्लेख गरेका छन् । तर, ताजा जनादेश आएपछि नयाँ सरकार गठनका लागि आवश्यक वातावरण बनाउन पहल नगरेको गुनासो अाएकाे छ ।

पत्रमा भनिएको छ, तर, आजसम्म त्यस दिशामा ठोस कदम नचालिएको, बरु ढिलासुस्ती भइरहेको, राजश्वको दुरुपयोग र काम चलाउ सरकारले गर्न नमिल्ने निर्णयहरु भइरहेको सन्दर्भमा सरकारमा बसिरहनु औचित्यपूर्ण नरहेकाले आजैबाट माओवादी र संयुक्तका मन्त्रीहरुलाई फिर्ता बोलाई सरकारमा नरहेको जानकारी गराउँछु ।’

नेकपा एमालेसँग पार्टी एकता गर्नेगरी असोज १७ गते चुनावी तालमेल गरेसँगै माओवादी केन्द्रका सबै मन्त्रीलाई प्रधानमन्त्री देउवाले जिम्मेवारी मुक्त गरेका थिए ।

तीमध्ये मन्त्री शम्भुलाल श्रेष्ठ निर्वाचनपूर्व नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन् । माओवादी केन्द्रबाट सरकारमा ९ मन्त्री र ७ राज्यमन्त्री गरी १६ जना बिनाविभागीय मन्त्रीका रुपमा रहेका छन्।

यी हुन् माओवादी केन्द्रका बिनाविभागीय मन्त्रीहरु

मन्त्री

कृष्णबहादुर महरा

गिरिराजमणि पोखरेल

जनार्दन शर्मा

प्रभु शाह

टेकबहादुर बस्नेत

शिवकुमार मण्डल केवट

महेन्द्रबहादुर शाही

आशा कोइराला

सन्तकुमार थारु

राज्यमन्त्री

मोहम्मद जाकिर हुसेन

रामसिंह यादव

श्यामकुमार श्रेष्ठ

कर्णबहादुर विक

छमबहादुर गुरुङ

गोमा कुँवर