Breaking News

सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम आज पनि तोकेन

काठमाण्डाै,२८ पुस । सरकारले प्रदेश र स्थानीय तहमा जान नचाहने कर्मचारीका लागि स्वेच्छिक अवकाशको बाटो खुला गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र स्थानीय तहमा जान नचाहने निजामति कर्मचारीलाई स्वेच्छिक अवकाशको विकल्प दिने निर्णय गरको हो । सो निर्णय राजपत्रमा प्रकाशनका लागि पठाइसकिएको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए ।

त्यस्तै मन्त्रीपरिषद्को बैठकले धनकुटाको खोकुछिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । २०३६ साल कात्तिक २७ गते भएको घटनामा राज्य पक्षबाट १६ जना मारिएका थिए । त्यस्तै, बैठकले न्याय सेवाको विशिष्ट श्रेणीमा महेन्द्रनाथ उपाध्याय र पुनरावेदन समिति प्रमुखमा हेमराज पन्तलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता बस्नेतले जानकारी दिए।

यस्तै २०७५ को राष्ट्रिय आर्थिक गणना आदेश सूची बैसाख १ मा जारी गर्ने र विश्व बैंकबाट ८ अर्ब ऋण स्वीकार गर्नेबारे निर्णय गरेकाे छ । प्रदेश प्रमुख र अस्थायी मुकामबारे निर्णय गर्ने भनिए पनि बैठकले निर्णय नगरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेताले बताए । उनले सम्भवतः आगामी बैठकबाट प्रदेश प्रमुख र अस्थायी मुकाम तोकिने निर्णय हुने बताए ।

प्रदेशसभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने लगायतका प्रदेशको कार्य सञ्चालनसम्बन्धी अति जरूरी कार्यहरु तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले सरकारले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी रूपमा स्थान तोक्न आवश्यक तयारी गरेको थियो ।

shares