एमबीबीएस प्रश्नपत्र चुहावट गर्नेलाई ४ बर्ष कैद सजाय

काठमाण्डौ, २८ पुस । विशेष अदालतले तीन वर्षअघि गोल्डनगेट कलेजमा भएको एमबीबीएस परीक्षामा प्रश्नपत्र चुहावट प्रकरणमा मुछिएका ८ जनामध्ये ६ जनालाई भ्रष्टाचारी ठहर गरेको छ । अदालतले बुधबार प्रश्नपत्र चुहावट प्रकरणमा मुख्य योजनाकार मानिएका प्रभातकुमार कुशवाहलाई दोषी ठहर गर्दै ४ वर्ष कैद र ३४ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको रजिस्ट्रार भीम श्रेष्ठले जानकारी दिए ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरू द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले कलेजका निर्देशक देवीराम पाण्डेलाई ९ महिना कैद तथा ५ लाख ५ हजार जरिवाना फैसला सुनाएको छ । हरिहर भनिने खेचरनाथ सापकोटालाई एक महिना १५ दिन कैद र २५ सय रुपैयाँ जरिवाना तथा धर्मेन्द्र यादवलाई एक वर्ष कैद र ९ लाख रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, जीवछकुमार यादवलाई १ वर्ष कैद र ५ लाख २ हजार रुपैयाँ जरिवाना र महेश्वर यादवलाई २ वर्ष कैद र १७ लाख रुपैयाँ जरिवाना भएको छ । शैफ अख्तर र घनेन्द्रप्रसाद संग्रौलाले भने सफाइ पाएका छन् ।

कलेजका निर्देशक प्रभातकुमार कुशवाहको योजना र रणनीतिमा एमबीबीएस प्रश्नपत्र चुहावट भएको भनी अख्तियारले अनुसन्धान प्रतिवेदन तयार पारेको थियो । २०७१ मंसिर २० को घटनामा एक महिना लामो अनुसन्धान गरी अख्तियारले कुशवाहको योजनामा पाण्डेले प्रश्नपत्र चुहावट गरेको निष्कर्ष निकालेको थियो  । यो खबर कान्तिपुर दैनिकमा छ ।