August 19, 2017

मध्यपुर थिमी नगरपालिकामा चुनावी सरगर्मी बढ्दै

भक्तपुर २६ वैशाख । स्थानीय तहमा निर्वाचनको मिति नजिकिए सँगै भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा चुनावी माहोल तीव्र गतिमा अघि बढेको छ ।

यही ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि यस नगरपालिकामा नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीबीच समिकरण भएको छ भने नेपाली कांग्रेस एकल प्रतिस्पर्धामा उत्रिएको छ । यस्तै नेकपा माओवादी केन्द्रले निर्वाचनका लागि नेकपा एमाले र नेमकिपाको समिकिरण तोडेर एकल रुपमा चुनावी मैदानमा आफूलाई अघि सारेको छ ।

मध्यपुर थिमीमा सबै दलको प्रतिपक्ष भनेको नेपाली कांग्रेस नै रहेको छ । नेपाली कांग्रेसतर्फका नगर प्रमुख पदका उम्मेदवार अष्ट कबेले नेपाली कांग्रेसको पोल्टामा पर्ने निश्चित भएको दाबी गरे । यस्तै एमाले नेमकिपाको समिकरणबाट मेयर पदका उम्मेदवार मदनसुन्दर श्रेष्ठले प्रमुख प्रतिद्वन्द्वीका रुपमा नेपाली कांग्रेस रहे पनि दुई पार्टीको समिकरण र नगरको समग्र समृद्धिका लागि आफूसँग योजना रहेका कारण निर्वाचन जित्ने बताए ।

यसैबीच नेकपा माओवादी केन्द्रका तर्फबाट मेयर पदका उम्मेदवार प्रतिमा श्रेष्ठले नगरको विकास र भष्ट्राचारमुक्त नगर निर्माणका लागि आफूले निर्वाचन जित्ने बताए । उनले आफू महिला उम्मेदवार भएकै कारण पनि यहाँका महिला मतदाताको मत आफूलाई नै आउनेमा विश्वस्त रहेको दाबी गरिन् ।