१६औं राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपिएफलार्इ

काठमाण्डाै,२७ पुस । राखेप च्याम्पियनसिप अन्तर्गत १६औं राष्ट्रिय महिला लिग फुटबलको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।

सुपरलिग अन्तर्गत बिहीबार एन्फा मैदान सातदोबाटोमा भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि हात पारेकाे हो । उपाधिसँगै एपीएफले २ लाख पुरस्कार पाएको छ । एपिएफका लागि सावित्रा भण्डारीले दुई तथा सरु लिम्बूले एक गोल गरिन् ।

सुपरलिगमा भएका तीन खेलमध्ये सबै खेल जितेको एपीएफले ९ अंक जोड्दै उपाधि जितेको हो । यस्तै सुपरलिगको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमलाई ७–० गोलले हराउँदै नेपाल आर्मी उपविजेता बनेको छ । आर्मीका लागि कृष्णा खत्री एक्लैले ५ गोल गरिन् भने शर्मिला थापा र विमला चौधरीले १–१ गोल गरे ।

उपविजेता आर्मीले १ लाख रुपैयाँ पुरस्कार पायो । यस्तै सुपरलिगको अन्तिम खेलमा एपिएफसँग पराजित भए पनि तेश्रो बनेको नेपाल पुलिस क्लबले ५० हजार रुपैयाँ पुरस्कार पायो ।

विजेता तथा उपविजेतालाई खेलकुदमन्त्री राजन केसीले पुरस्कार बितरण गरेका थिए । समूहचरणमा राम्रो प्रदर्शन गर्दै सुपरलिगमा पुगेको सुदूरपश्चिमले भने कुनै खेल जित्न सकेन । पुस १६ गतेबाट सुरु भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो ।