August 17, 2017

दोस्रो सेमिफाइनल लेगमा युभेन्ट्स र मोनाको भिड्दै

काठमाण्डौ, २६ वैशाख । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आज युभेन्ट्स र मोनाको एकआपमा भिड्दैछन् ।

युभेन्ट्सको घरेलु मैदानमा नेपाली समय अनुसार राति साढे बाह्र बजे हुने खेलमा सेमिफाइनलको पहिलो लेग २–० ले जितेको युभेन्ट्स आजको खेलमा पनि शतप्रतिशत जित निकाल्ने योजनामा हुनेछ । यो सिजनमा घरेलु मैदानमा कुनै हार नबेहोरेका कारण पनि युभेन्टस् बढी आत्मविश्वासी देखिएको हो । यता, पहिलो लेग हारेको लिग वान क्लब मोनाकोका लागि आजको खेल केही कठिन हुने देखिएको छ ।

युभेन्ट्स र मोनाकोबीच भएका पछिल्लो पाँच खेलमा युभेन्टसले तीन खेलमा जित हात पारेको छ भने, एक खेल मोनाकोले जितेको छ । बाँकी एक खेल भने गोल रहित बराबरीमा रोकिएको छ । यसरी हेर्दा पनि युभेन्ट्सले बाजी मार्ने देखिएको छ ।