October 23, 2017

एलईडी बल्ब खरिद प्रक्रियामा अनियमितता भएको भए सजाय भोग्न तयारः प्रबन्ध निर्देशक घिसिङ

काठमाण्डौ, २६ वैशाख । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले एलईडी बल्व खरिदमा अनियमितता भएको प्रमाणित भए जस्तो सुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।

विद्युत प्राधिकरणमा आज पत्रकार सम्मेलन गरी निर्देशक घिसिङले बल्ब खरिद प्रक्रियामा आफूले कुनियत नराखेको स्पष्ट पारे । मुलुकलाई आगामी वर्ष करीब ३ सय मेगावाट थप विद्युत आवश्यक पर्ने तर तत्कालै उक्त परिमाणमा विद्युत उत्पादन हुनसक्ने अवस्थामा माग व्यवस्थापनको उपयुक्त माध्यम एलइडी बल्व प्रयोग रहेको उनको भनाई छ ।

पत्रकार सम्मेलनमा भावुक देखिएका निर्देशक घिसिङले दुई चार घण्टा लोडसेडिङ गरेको भए दुई–चार करोड रुपैयाँ कमाउन सक्ने भन्दै जनतालाई ठगेर बल्बबाट पैसा खान आवश्यक नरहेको स्पष्ट पारे । चिलिमेदेखि नै आफूविरुद्ध श्रृंखलाबद्ध रूपमा आक्रमण भइरहेको भन्दै पछिल्लो आरोप चरित्र हत्या गर्ने प्रकारले आएको दुखेसो व्यक्त गरे ।

लोडसेडिङ अन्त्य गर्न इमानदार भएर लाग्दा पनि विभिन्न आरोप खेप्नुपरेको भन्दै निर्देशक घिसिङले आगामी दिन आफ्ना लागि अझ चुनौतीपूर्ण हुने बताए ।