Breaking News

राष्ट्रिय सभा निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनिक

काठमाण्डाै,२६ पुस । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले सरकारले तोकेको माघ २४ गते मतदान गर्ने गरी बुधबार कार्यतालिका सार्वजनिक गरेको हो । सबै प्रदेशमा उच्च अदालत रहेका स्थानमा विहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको आयोगले जनाएको छ । सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नतोके पनि कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगले माघ सात गते मतदाता नामावली प्रकाशन गर्ने , १० गते उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने , माघ १५ गते उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । माघ २४ गते मतदान गर्ने र मतदान सकिएकै दिन दिउँसो ४ बजेबाट मतगणना सुरु गरिने आयोगले जनाएको छ ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन अनुसार अन्तिम नतिजा सार्वजनिक भएको ७ दिन भित्र प्रदेश प्रमुखसमक्ष प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था भएकाले प्रमुख नियुक्त छिटै नियुक्त हुने विश्वास आयोगको रहेको प्रवक्त ढकालले जानकारी दिए ।

राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य तीन जनासहित ८ जना चुनिने संवैधानिक प्रावधान छ  ।

त्यसबाहेक सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक महिलासहित तीन जना राष्ट्रिय सभामा मनोनीत हुनेछन । राष्ट्रिय सभा सदस्यको निर्वाचक मण्डलमा प्रदेशसभाका सदस्य तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख रहेका छन ।

shares