उमेर हुनेले नभई एजेण्डा हुनेले पार्टीको नेतृत्व गर्नुपर्छः कांग्रेस प्रवक्ता

काठमाण्डाै,२६ पुस । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उमेर हुनेले नभई एजेण्डा हुनेले पार्टीको नेतृत्व गर्ने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा पार्टी प्रवक्ताका रुपमा पहिलो पत्रकार सम्मेलन गरेका शर्माले केन्द्रीय कार्यसमिति बैठक छिट्टै बस्ने समेत जानकारी दिए । उनले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग नगरेको भन्दै केन्द्रीय कार्यसमिति बैठकको माग मात्र गरेको जानकारी दिए ।

उमेर भएकालाइ नभइ एजेण्डा भएकालाई नेतृत्व दिनुपर्ने उनको भनाई थियाे । कांग्रेस भूकम्पपछिको नेपाल जस्तै बनेकोले केही ढिलो भएपनि पुनर्निर्माणका लागि तयारी भइरहेको शर्माले बताए । अहिले नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न केही कामहरू गर्न बाँकी नै भएको भन्दै शर्माले केन्द्रीय कार्यसमितिको बैठक बस्न ढिला भएको स्पष्ट पारे ।

प्रवक्ता शर्माले नेपाली कांग्रेसमा चुनाव सम्पन्न गराएको र पराजित भएको दुई खालको मनोविज्ञान रहेको बताए । आफूपनि मिडियाबाटै आएको बताउँदै उनले सञ्चारकर्मीहरुसँग आफूलाई परिवारकै सदस्यका रुपमा हेर्न आग्रह गरे ।