उत्तर र दक्षिण कोरिया सैन्य वार्ता गर्न सहमत

काठमाण्डौ २६ पुस । उत्तर र दक्षिण कोरिया सीमामा विद्यमान तनावलाई मत्थर गर्न सैन्य वार्ता गर्न सहमत भएका छन ।
दुवै कोरियाले संयुक्त विज्ञप्ती जारी गर्दै सैन्य वार्ताबारे जानकारी गराएका हुन । दुई वर्षको संवादहीनतापछि भएको वार्तामा उत्तर कोरिया दक्षिण कोरियामा हुने हिउँदे ओलम्पिक्समा खेलाडी पठाउन पनि सहमत भएको छ ।

अर्को महिना दक्षिण कोरियामा हिउँदे ओलिम्पिक्स आयोजना गरिएको छ । हिउँदे ओलम्पिक्समा दुई देशले उद्घाटन समारोहमा संगै मार्चपास गर्नेछन । दुवै मुुुलुकबीच दुई वर्ष अघि निलम्बित गरिएको दुई देशबीचको सैन्य हटलाइन सम्पर्क पुनर्स्थापित गर्ने पनि सहमति भएको छ ।

उत्तर कोरियाको परमाणु कार्यक्रमबारे छलफल गर्न दक्षिणले गरेको प्रस्तावमाथि कुनै प्रतिक्रिया आएको छैन । दुई देशबीचको वार्ता अन्तर्राष्ट्रिय सीमामा पर्ने असैनिक क्षेत्रको पाम्मून्जम भनिने शान्ति गाउँमा भएको थियो । दुबै पक्षबाट पाँच जना उच्च अधिकारीहरु वार्तामा सहभागि थिए । दुबै देशका नेताले सिसिटिभी मार्फत ती कुराकानी नियालेका थिए ।