१६औँ महिला राष्ट्रिय फुटबलको अाजकाे खेलमा एपीएफ र नेपाल पुलिसकाे जित

काठमाण्डाै, २५ पुस । १६औँ महिला राष्ट्रिय लिग फुटबलको सुपर लिग खेलमा सशस्त्र प्रहरी बलको एपीएफले त्रिभुवन आर्मीमाथि जित हात पारेको छ ।

अनिता केसी र अनिता बस्नेतले दोस्रो हाफमा गोल गरेपछि सुपर लिगअन्तर्गत दोस्रो खेलमा एपीएफले एक गोलले पछि परेको स्थिति उल्टाउँदै आर्मीलाई २–१ ले पराजित गरेको हो । समूह चरणमा पनि एपीएफले आर्मीलाई हराएको थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा कप्तान कृष्णा खत्रीले १७औँ मिनेटमा गोल गर्दै आर्मीलाई पहिले अग्रता दिलाएकी थिइन् । उनले एपीएफका गोलकिपर एन्जिला तुम्बाहाम्फेको गल्तीमा गोल गरेकी हुन् ।

पहिलो हाफमा एक गोलले पछि परेपनि दोस्रो हाफमा एपीएफले पुनरागमन गर्दै दुई गोल फर्कायो । ५० औँ मिनेटमा अनिता केसीले एपीएफका लागि बराबरी गोल फर्काइन् । ८२ औँ मिनेटमा अनिता बस्नेतले एकल प्रयासमा गोल गर्दै एपीएफलाई २–१ को अग्रता दिलाइन् ।

सुपर लिगमा एपीएफको लगातार दोस्रो जित हो भने आर्मीको पहिलो हार हो । एपीएफले यसअघि सुपर लिगमा सुदूर पश्चिमलाई हराएको थियो भने आर्मीले पुलिसलाई पराजित गरेको थियो ।

यसअघि मंगलबारै भएको पहिलो खेलमा नेपाल पुलिसले सुदूरपश्चिमलाई १–० ले पराजित गरेको छ । दोस्रो जितपछि एपीएफले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । एपीएफले बिहीबार अन्तिम सुपर लिग खेलमा नेपाल पुलिससँग खेल्नेछ भने आर्मीले सुदूरपश्चिमसँग खेल्नेछ ।