August 17, 2017

अज्ञात समूहद्वारा एक्साभेटरमा अागजनी

शिवलाल सुवेदी / गुल्मी २६ वैशाख । गुल्मीको इस्मा गाउँपालिकामा सडक खन्ने काममा प्रयोग गरिरहेको एक्साभेटरमा अज्ञात समूहले आगजनी गरेका छन् ।

निर्माणाधिन छल्दी–पनाहा–इन्द्रेगौडा सडकमा काम गरिरहेको बा २ क ५१६५ नम्बरको एक्साभेटरमा सोमबार राति आगजनी भएको हो ।इस्मा गाउँपालिका–२ रातचौर भन्ने स्थानमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

सोमबार राति १ बजेतिर सडकमा रोकिराखेको एक्साभेटरमा आगजनी हुँदा एक्साभेटरको इन्जीन जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । निर्माणाधिन सडकमा कालिका कन्ट्रक्सन काठमाण्डौले सडक निर्माणको जिम्मा लिएको थियो । आगजनी गर्ने व्यक्तिकाे खोजी भइरहेको समेत प्रहरीले जनाएको छ । आगजनीबाट एक्साभेटर काम नलाग्ने भएको कालिका कन्ट्रक्सन काठमाण्डौका इन्जिनियर नबिन सापकोटाले बताए ।

सडक चौडा पार्ने तथा नाली र ग्राभेल गर्नका निम्ती झण्डै ६ महिना अघिदेखि सडक निर्माण उक्त एक्साभेटर प्रयोग हुँदै आएको थियो ।