रक्सौलबाट १६ दिनदेखि क्लिंकर आयात ठप्प, दर्जन सिमेन्ट उद्योगहरु संकटमा

राम कुशवाहा/ बीरगंज २५ पुस । नेपाल भारतबीच उच्चस्तीय पहल नहुँदा सीमावर्ती भारतीय सहर रक्सौलबाट विगत १६ दिन देखी क्लिंकर आयात ठप्प रहेको छ ।

सिमेन्टको कच्चा पदार्थ क्लिंकर अभावमा वीरगंज पथलैया औद्योगिक कोरिडोरमा रहेका करिब एक दर्जन सिमेन्ट उद्योगहरु संकटमा परेका छन् । प्रदूषण कारण देखाई रक्सौल रेल्वे स्टेसनबाट पुस ७ देखि क्लिंकर ओसारपसार ठप्प भएको हो ।

भारतीय रेल्वेले क्लिंकर लोडिङका लागि नयाँ आर्डरसमेत लिएको छैन । उद्योगीका अनुसार क्लिंकर आयात नहुँदा र सिमेन्टको घट्दो उत्पादनले सरकारले दैनिक १० करोड रुपैयाँ राजस्व गुमाइरहेको छ । शालिमार गु्रप्सका अध्यक्ष अशोक वैद्यले विगत दुई सातादेखि क्लिंकर आयातमा समस्या आएपछि उत्पादन प्रभावित भएको बताए ।

नेपाली सिमेन्ट उद्योगका लागि चाहिने क्लिंकर भारतको राजस्थान, छत्तिसगढ, मध्यप्रदेश, उडिसालगायतका राज्यबाट रेल्वेमा लोड गरी रक्सौल स्टेसनसम्म आउने गरेको थियो। त्यहाँबाट उद्योगीले ट्रिपररट्रकमा उद्योगसम्म ढुवानी गर्दै आएका थिए । क्लिंकर खुला तथा धूलोयुक्त (डस्टी कार्गो) हुने भएकाले त्यसले वातावरणमा प्रतिकूल प्रभाव पार्ने गरेको भन्दै स्टेसन वरिपरिका बासिन्दाले विरोध गरेका थिए ।

डिसेम्बर २५ देखि नाका ठप्प पार्ने चेतावनी दिएकाले त्यसको दुई दिन अगाडिदेखि नै भारतीय रेल्वेले क्लिंकर लोडिङ बन्द गरेको हो । वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडियाले समस्या समाधानका लगाी उच्चस्तरीय पहल आवश्यक रहेको बताउनुहुदै वैकल्पिक व्यवस्था नहुन्जेल भारतीय पक्षले रक्सौलमै क्लिंकर लोडरअनलोड गर्न दिनुपर्ने बताए  ।

उता उद्योगहरूले उत्पादन घटदै गएकाले बजारमा प्रतिबोरा १ सय ५० रुपैयाँसम्म मूल्य वृद्धि गरेका छन । यसैविच नेपाल निर्माण व्यवसायि संघ पर्साले निर्माण समाग्रीको कृत्रिम अभाव देखाई मुल्य वृद्धि भएको प्रति स्थनिय प्रशासनको ध्यानाकर्षण गराएको छ ।

संघका जिल्ला अध्यक्ष रामाकान्त चौरसियाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा दत्त पौडेललाई ज्ञापन पत्र बुझाउदै २०७४÷७५ को लागि निर्धारण गरिएको दर अनुसार नै निर्माण समाग्रीको विक्रि हुनपर्ने माग गरेको छ ।

व्यापारीहरुले निर्माण सामग्रीको कृतिम अभाव देखाई अत्याधिक मुल्य वृद्धि गरेको बताउदै संघले अनुगमन गर्न समेत माग गरेको छ । निर्माण सामग्रीको मुल्य समायोजन नभएमा जिल्लामा भइरहेका सम्पूर्ण विकास निर्माण कार्य ठप्प हुने चेतावनी समेत दिइएको छ । साथै आन्दोलनमा जाने समेत महासचिव सुरेश पटेलले जानकारी दिए ।