August 23, 2017

सरकारले संविधान संशोधनलाई आेझेलमा पारेको राजपाको आरोप

काठमाण्डौ, २६ वैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान संशोधनको विषयलाई सरकारले ओझेलमा पारेको आरोप लगाएको छ ।

सरकार, प्रतिपक्षी दल तथा राष्ट्रिय जनता पार्टीका शीर्ष तहले मंगलबार प्रधानमन्त्रीसँगको भेटमा यस्तो आरोप लगाएको हो । बैठकमा सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकका विषयमा मधेशमा आधारित राजनीतिक दलले कडा आपत्ति प्रकट गरेका थिए ।

बैठकमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन र मधेशमा स्थानीय तहको संख्या थप बिषयमा छलफल भएको नेताहरुले जनाएका छन् । बैठकमा प्रधानमन्त्रीले संविधान संशोधन विधेयक पारित गराउन सरकारको तर्फबाट पहल भइरहेको जानकारी गराएका थिए ।

त्यस्तै राजपाका नेता राजेन्द्र महतोले संशोधनका बिषयमा सरकारी तवरबाट भइरहेको छलफलका बारे जानकारी मागिएको बताए । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले संशोधन गरेर मोर्चाका मागलाई सम्बोधन गर्न सहमतिमा आउन एमालेलाई पनि आग्रह गरिएको बताए ।

राजपाले संविधान संशोधनको विषयलाई थाँती राखेर सल्लाह बिना नै संसद जेठ ४ गतेसम्मका लागि स्थगित गरेकोमा आपत्ति समेत प्रकट गरेको छ ।