Breaking News

मोफसलकै सर्वाधिक राशिको खप्तड गोल्डकप भोलिदेखि

धनगढी, २० पुस । मोफसलकै सर्वाधिक पुरस्कार राशिको नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।

निजी क्षेत्रको सर्वाधिक धनराशी पुरस्कार भएको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता—२०७४‘ शुक्रबारदेखि धनगढी रंगशालामा सुरु हुन लागेको हो । यसका लागि आवश्यक सबै तयारी सकिएको आयोजकले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम एघार र ए डिभिजन क्लब च्यासलबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता दिउँसो १ बजे हुदैछ । प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिम एघार जित हात पार्दै शखद नतिजा निकाल्ने दाउमा छ भने च्यासल क्लब घरेलु टिमलाई पराजित गर्ने रणनीतिको साथ मैदानमा उत्रिदैछ ।

माघ १ गतेसम्म आयोजना हुने दोस्रो संस्करणको खप्तड गोल्डकप सञ्चालन हुने मैदान झण्डै ३ हजार ५ सय दर्शक क्षमताको रहेको छ ।  दुई वटा प्याराफिट रहेका छन् भने दर्शकका लागि थप अस्थायी प्याराफिट निर्माण गरिएको छ ।

प्रतियोगितामा नेपालका चर्चित फुटबल क्लब मनाङ मस्र्याङ्दी, संकटा, त्रिभुवन आर्मी, झापा ११, साहारा क्लब पोखरा, अग्नी रुपन्देही ११, सुदूरपश्चिम ११, धरान फुटबल क्लब, एपिएफ क्लब, काठमाडौं, डुक स्टार क्लब भुटान, च्यासल युथ क्लब, र थ्री स्टर क्लब गरी १२ वटा एडिभिजन क्लबले सहभागिता जनाउने छन् ।

सहभागी टोलीहरुलाई दुई समुहमा विभाजन गरेर खेल खेलाइनेछ । जसमा एक समूहमा रहेका दुई–दुई गरी चार टोलीले सीधै क्वाटरफाइनलमा स्थान बनाएका छन् । प्रतियोगिताको दोस्रो संस्करणका विजेतालाई ११ लाख ११ हजार १ सय ११, उपविजेतालाई पाँच लाख ५५ हजार ५ सय ५५, ट्रफी, मेडलसहितको पुरस्कार प्रदान गरिने छ ।

यस्तै, विभिन्न विधाका उत्कृष्टहरुलाई १५-१५ हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रवक्ता ओम चन्दले जानकारी दिनुभयो । प्रत्येक खेलका म्यान अफ द म्याचलाई १०-१० हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा टिकट काटेर खेल हेर्न जाने दर्शकहरुलाई प्रत्येक दिन गोलाप्रथाद्धारा मोबाइल प्रदान गरिने भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक सिजी ग्रुपको नेपाल आईस ब्राण्ड र सह–प्रायोजकमा नेपाल टेलिकम र जगदम्बा पाइप रहेको छ ।

shares