Breaking News

राष्ट्रिय महिला फुटबल: नेपाल पुलिस र सुदूरपश्चिम सुपर लिगमा

काठमाण्डाै, २० पुस । नेपाल पुलिस क्लब र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको टोली १६औं राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सुपर लिगमा प्रवेश गरेका छन् ।

राखेप च्याम्पियनसिप अन्तर्गत बिहीबार भएको समूह ए को खेलमा सुदूरपश्चिमले मध्यमाञ्चलविरुद्ध १-० गोल अन्तरले जित निकाल्दै  अन्तिम चारमा स्थान सुनिश्चित गरेकाे हाे ।

खेलको सातौं मिनेटमा किरण चौधरीले गरेको गोल नै निर्णायक बन्यो र जित सुदुरपश्चिमकाे पक्षमा गयाे । मध्यामाञ्चलकाे खेलमा फर्कने प्रयास निरर्थक बन्दा सुपरलिगमा स्थान बनाउन सकेन । २ जित र १ हारसँगै ६ अंकका साथ समूह उपविजेताको रूपमा सुदूरपश्चिम सुपर लिगमा पुगेको हो ।

समूह ‘ए’ कै अर्को खेलमा पुलिस क्लवले पूर्वाञ्चललाई ५-० गोलको फराकिलो अन्तरले हराउँदै समूह विजेताको रूपमा सुपर लिगमा प्रवेश गरेकाे छ ।

पुलिसका लागि खेलको चौथो, १५औं र ४२औं मिनेटमा गोल गर्दै निर्मला बिकले हृयाट्रिक गर्न सफल भइन् । त्यस्तै निरु थापाले पनि खेलको ७७औं र ९०औं मिनेटमा अर्को दुई गोल गरेकी हुन् ।

यसअघि समूह बी बाट एपीएफ र आर्मी लिगमा एक खेल बाँकी छँदै सुपरलिगमा पुगिसकेका छन् । समूह विजेताको टुंगो भने शुक्रबार हुने यी दुर्इ टाेलीबीचको खेलले लगाउनेछ ।

shares